सडकदेखि सामाजिक सुरक्षासम्म : एमालेले सार्वजनिक गर्‍यो ३५ वर्षका उपलब्धिको फेहरिस्त

सडकदेखि सामाजिक सुरक्षासम्म : एमालेले सार्वजनिक गर्‍यो ३५ वर्षका उपलब्धिको फेहरिस्त

गरिबी ४२ प्रतिशतबाट २०.३ प्रतिशतमा झारेको जिकिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले २०४७ सालदेखि विभिन्न समयमा सरकारको नेतृत्व गर्दा तथा सरकारमा सहभागी हुँदा देश र जनताका पक्षमा भएका कामहरूको विवरण सार्वजनिक गरेको छ।

पार्टीले संविधान निर्माणदेखि आर्थिक विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, कृषि र परराष्ट्र सम्बन्धसम्मका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेको छ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुधबार राष्ट्रिय भेलामा सार्वजनिक गरेको दस्ताबेजमा आफूले नेतृत्व गरेको र सहभागी भएको सरकारको कामको मात्रै जिम्मेवारी लिने उल्लेख छ।

२०४७ वैशाख ६ गते गठन भएको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्मका विभिन्न अवधिमा पार्टी सरकारमा सहभागी भएको र नेतृत्व गरेको विवरण प्रस्तुत गर्दै एमालेले समग्र ३५ वर्षको जिम्मेवारी भने नलिने स्पष्ट पारेको छ।

पौडेलको दस्ताबेजले एमाले नेतृत्वको अल्पमतको सरकार करिब नौ महिना, बहुमतको सरकार करिब तीन वर्ष, अन्य दल सहभागी सरकारको नेतृत्व करिब तीन वर्ष छ महिना र अन्य दलको नेतृत्वमा एमाले सहभागी सरकार करिब पाँच वर्ष रहेको उल्लेख गरेको छ।

पार्टीले उपलब्धिको मूल्यांकन गर्दा समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र राजनीतिक शक्ति सन्तुलनलाई पनि ध्यान दिनुपर्ने जनाएको छ। राजनीतिक अस्थिरताका बाबजुद एमाले नेतृत्व वा सहभागिताका सरकारहरूले आर्थिक तथा सामाजिक रूपान्तरणका लागि पहलकदमी लिएको र विशेषगरी भौतिक पूर्वाधार, आर्थिक वृद्धि तथा मानवीय विकासमा उल्लेखनीय प्रगति भएको दस्ताबेजमा उल्लेख छ।

गरिबी घटेको र अर्थतन्त्रको आकार बढेको दाबी

एमाले उपाध्यक्ष पौडेलले आर्थिक तथा सामाजिक परिसूचकमा सुधार आएको दाबी गरेका छन्। दस्ताबेजले २०५२ सालमा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० सालमा २०.३ प्रतिशतमा झरेको छ। ग्रामीण क्षेत्रमा गरिबी ४३ प्रतिशतबाट २५ प्रतिशत र सहरी क्षेत्रमा २२ प्रतिशतबाट १८ प्रतिशतमा झरेको उल्लेख गरेको छ।

त्यस्तै, २०५२ सालमा ०.४३७ रहेको मानव विकास सूचकांक २०८० मा ०.६०२ पुगेको, प्रतिव्यक्ति आय २०४७ सालको २०० अमेरिकी डलरबाट २०८२ सालमा १ हजार ५३५ डलर पुगेको एमालेको दाबी छ।

दस्ताबेजमा नेपालको कुल गार्हस्थ्य उत्पादन २०४७ सालमा १ खर्ब २० अर्ब रुपैयाँ रहेकामा अहिले ६६ खर्ब पुगेको उल्लेख छ। वार्षिक बजेटको आकार ३१ अर्ब ५५ करोडबाट बढेर २१ खर्ब २४ अर्ब रुपैयाँ पुगेको र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट २६ अर्ब ४८ करोड डलर पुगेको विवरण पनि समेटिएको छ।

एमाले उपाध्यक्ष पौडेलले यस अवधिमा अधिकतम ७.५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल भएको, नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्रसंघबाट सिफारिस भएको तथा वित्तीय स्थायित्व कायम भएको दाबी गरेको छ।

सडक सञ्जाल र ऊर्जा क्षेत्रमा प्रगति

भौतिक पूर्वाधारतर्फ एमालेले सडक निर्माणलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। दस्ताबेजअनुसार २०४७ सालसम्म देशभर ८ हजार ३२८ किलोमिटर सडक रहेकामा २०८१ सालमा सडक सञ्जाल १ लाख १० हजार किलोमिटर पुगेको छ। त्यसबेला एक आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्रे हुने अवस्था रहेकामा अहिले दैनिक पाँच किलोमिटर कालोपत्रे हुने गरेको दाबी गरिएको छ।

पूर्व–पश्चिम राजमार्ग, पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग तथा उत्तर–दक्षिण राजमार्ग निर्माण र विस्तारलाई पनि उपलब्धिका रूपमा उल्लेख गरिएको छ। काठमाडौं–तराई द्रुतमार्ग, सुरुङमार्ग, अग्ला पुल तथा रेलमार्ग निर्माणका योजना अघि बढाइएको दस्ताबेजमा जनाइएको छ।

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको, जयनगर–जनकपुर रेलमार्ग सञ्चालनमा आएको तथा विभिन्न विमानस्थलको क्षमता सुधार गरिएको पनि एमालेको दाबी छ।

ऊर्जा क्षेत्रमा २०४७ सालमा २२७ मेगावाट रहेको विद्युत् उत्पादन क्षमता अहिले ४ हजार १२० मेगावाट पुगेको दस्ताबेजमा उल्लेख छ। विद्युत्को पहुँच १० प्रतिशतबाट बढेर ९९ प्रतिशत नागरिकमा पुगेको र लोडसेडिङ अन्त्य भएको पार्टीको दाबी छ। भारततर्फ विद्युत् निर्यात भइरहेको तथा भेरी–बबई र सुनकोशी–मरिनजस्ता नदी पथान्तरण आयोजना अघि बढाइएको पनि उल्लेख छ।

सामाजिक सुरक्षा र रोजगारीका कार्यक्रम

एमालेले सामाजिक सुरक्षा भत्तालाई आफ्नो सरकारको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। २०५२ सालमा ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई मासिक १०० रुपैयाँबाट सुरु गरिएको भत्ता अहिले ४ हजार रुपैयाँ पुगेको र यसबाट लाभान्वित हुनेको संख्या ३६ लाख पुगेको दस्ताबेजमा उल्लेख छ।

ज्येष्ठ नागरिकमा सीमित सामाजिक सुरक्षा कार्यक्रम एकल महिला, अपांगता भएका व्यक्ति, बालबालिका, दलित, द्वन्द्वपीडित तथा सीमान्तकृत समुदायसम्म विस्तार गरिएको पार्टीको दाबी छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २० हजार रोजगारदाता र ३१ लाख श्रमिक आबद्ध भएको तथा कोषमा १ खर्ब २४ अर्ब रुपैयाँ जम्मा भएको विवरण पनि प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम १०० दिन रोजगारीको व्यवस्था, बेरोजगार भत्ता, श्रमिकको न्यूनतम ज्याला, दुर्घटना बीमा र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम भएको दस्ताबेजमा उल्लेख छ।

शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार

शिक्षातर्फ २०४८ सालमा ३९.६ प्रतिशत रहेको साक्षरता दर २०७८ मा ७६.२ प्रतिशत पुगेको एमालेको दाबी छ। आधारभूत तहमा विद्यार्थी भर्ना दर ९७.८ प्रतिशत पुगेको र विद्यालय शिक्षामा विद्यार्थी संख्या ४६ लाखबाट बढेर ८५ लाख पुगेको दस्ताबेजमा उल्लेख छ।

विद्यालयमा दिवा खाजा, छात्राका लागि निःशुल्क स्यानिटरी प्याड, सामुदायिक विद्यालयको पूर्वाधार सुधार तथा प्राविधिक शिक्षाको विस्तारलाई पनि उपलब्धिका रूपमा समेटिएको छ। उच्च शिक्षामा विद्यार्थी संख्या एक लाखबाट बढेर ६ लाख पुगेको र विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएको पार्टीको दाबी छ।

स्वास्थ्य क्षेत्रमा नेपालीको औसत आयु २०४७ सालको ५५ वर्षबाट बढेर २०८० सालमा ७२ वर्ष पुगेको उल्लेख छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिहजार १३९ बाट घटेर २५ मा झरेको र मातृ मृत्युदरमा पनि कमी आएको दस्ताबेजमा जनाइएको छ।

स्वास्थ्य बीमाबाट लाभान्वित हुनेको संख्या ८० लाख पुगेको, सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको प्रक्रिया अघि बढाइएको तथा ज्येष्ठ नागरिक र गरिब नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको एमालेको दाबी छ।

कृषि, पर्यटन र उद्योगमा जोड

कृषि क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन, उत्पादनमा आधुनिक प्रविधिको प्रयोग र बजारीकरण विस्तारलाई उपलब्धिका रूपमा उल्लेख गरिएको छ। धान उत्पादन ३० वर्षमा ३३ लाख मेट्रिक टनबाट बढेर ५९ लाख मेट्रिक टन पुगेको तथा वन क्षेत्र ३९ प्रतिशतबाट ४६ प्रतिशत पुगेको दस्ताबेजमा उल्लेख छ।

दूध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको दाबी गर्दै एमालेले खाद्यान्न, फलफूल, तरकारी, माछा तथा पशुपन्छी उत्पादनमा वृद्धि भएको जनाएको छ।

पर्यटनतर्फ वार्षिक पर्यटक आगमन साढे दुई लाखबाट बढेर १२ लाख पुगेको, पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गरिएको र होटल, रिसोर्ट, केबलकार तथा अन्य पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी बढेको उल्लेख छ।

उद्योग तथा व्यापारतर्फ औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र विस्तार, औद्योगिक ग्राम स्थापना, स्टार्टअप कार्यक्रम, एकीकृत भन्सार जाँच चौकी तथा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। चीनसँग समुद्री बन्दरगाह उपयोगलगायत व्यापार, पारवहन र यातायात सम्झौता भएको तथा नेपालको निर्यात व्यापार पहिलोपटक एक खर्ब रुपैयाँ नाघेको पनि दस्ताबेजमा उल्लेख छ।

संविधान, संघीयता र राष्ट्रिय हित

एमालेले संविधान निर्माण, संघीयता कार्यान्वयन र शान्ति प्रक्रियालाई पनि आफ्नो उपलब्धिको सूचीमा राखेको छ। २०७२ असोज ३ मा जारी संविधानसँग बाझिएका दुई सयभन्दा बढी कानुन संशोधन गरिएको, प्रदेश तथा स्थानीय तहका संरचना र जनशक्ति व्यवस्थापनमा सहजीकरण गरिएको दस्ताबेजमा उल्लेख छ।

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, प्रदेश तथा स्थानीय तहलाई अनुदान वितरण, अन्तरसरकारी समन्वय परिषद् र संघीय संरचनालाई क्रियाशील बनाउने कामलाई पनि पार्टीले उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।

त्यस्तै, सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वका समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने पहल तथा नागरिकता समस्याको समाधानका लागि प्रक्रिया अघि बढाइएको उल्लेख छ।

परराष्ट्र सम्बन्धमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’को नीति अवलम्बन गरिएको, भारतसँग सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राखिएको र चीनसँग व्यापार तथा पारवहन सम्झौता गरिएको दस्ताबेजमा जनाइएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा संविधान संशोधनमार्फत प्रकाशन गरिएको विषयलाई पनि राष्ट्रिय हितसँग जोडेर उल्लेख गरिएको छ।

एमाले उपाध्यक्ष पौडेलले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरिएको तथा डिजिटल गभर्नेन्स प्रणालीको विकास र कार्यान्वयन गरिएको दाबीसमेत गरेका छन्।