काठमाण्डु – आसन्न स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवार बन्ने तयारी गरिरहेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत उम्मेदवारी घोषणा गरेकी उनले काठमाण्डुपाटीसँग कुराकानी गर्दै भनिन्, ‘विगतदेखि नै तयारीमा थिएँ । देशको साँच्चिकै विकास गर्नुपर्छ भने स्थानीय तहदेखि नै सुधार गरेर जान जरुरी छ ।’
अधिकांश नेताहरू सांसद र मन्त्री हुने बाटो हेर्दा स्थानीय तहको मुख्य सुधार हुन नसकेको उनले बताइन् । उनले भनिन्, ‘हामी सांसद हुने, मन्त्री हुने मात्रै बाटो हेर्छाैँ । तर स्थानीय तहको मुख्य सुधार गर्न सकेका छैनन् । स्थानीय तहदेखि नै संरचनागत र सिस्टममा सुधार ल्याउँदै अगाडि बढ्न चाहन्छु ।’
सामाजिक सञ्जालमार्फत उनले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाण्डुको विकासमा समर्पित गर्ने बताइन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाण्डुको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित आगामी स्थानीय निर्वाचनमा काठमाण्डु महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्रीसमेत रहेकी श्रेष्ठ शिक्षा मन्त्री नियुक्त भएपछि पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी पार्टीको सक्रिय राजनीतिबाट टाढिएकी थिइन् ।



प्रतिक्रिया