काठमाण्डु- नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनहरू लोकतान्त्रिक तथा राष्ट्रवादी शक्ति र आफूले ‘फासीवादी तथा पपुलिस्ट’ भनेका शक्तिबीचको भीषण संघर्ष हुने बताएका छन्।
उनले आगामी चुनावलाई सामान्य प्रतिस्पर्धाका रूपमा लिन नहुने भन्दै पार्टीलाई संघर्ष र विजयको तयारीमा जुट्न आह्वान गरेका छन्।
एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचन पार्टीका लागि निर्णायक हुने बताए।
गत फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामलाई आगामी चुनावमा दोहोरिन दिने वा त्यसमा क्रमभङ्ग गर्ने भन्ने नै अहिलेको मुख्य राजनीतिक प्रश्न भएको उनको भनाइ थियो। ‘आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति संघर्ष हुने निश्चित छ’, उनले भने।
थापाले फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न खोजेको र बाह्य शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न कठपुतलीहरूलाई विजयी बनाउन चाहेको आरोपसमेत लगाए।
‘फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न चाहने र बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्ति गर्न कठपुतलीहरूलाई विजयी बनाउनैपर्ने हुँदा आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन्’, उनले भने।
आगामी निर्वाचनमा विजय हासिल गर्न एमालेले आन्तरिक एकता सुदृढ गर्दै जनतासँगको सम्बन्ध विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै उनले आफ्नो शक्ति र प्रतिद्वन्द्वीको कमजोरी पहिचान गर्न सके मात्रै राजनीतिक संघर्षमा सफलता हासिल गर्न सकिने बताए।
‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’, सुन जुको यही रणनीतिक भनाइलाई आत्मसात् गर्नुपर्ने उनको धारणा थियो। गत फागुन २१ को निर्वाचनमा एमालेले व्यहोरेको पराजयबारे आत्मसमीक्षा गर्दै थापाले पार्टीका कमजोरी पनि सार्वजनिक रूपमा औँल्याए।
विगतको निर्वाचनमा एमालेले प्रमुख प्रतिद्वन्द्वी पहिचान गर्न नसक्नु, आफ्ना कमजोरी बुझ्न नसक्नु, प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्न नसक्नु, आन्तरिक एकता कायम गर्न नसक्नु र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसक्नुजस्ता कमजोरी गरेको उनले बताए ।
‘संघर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन्। विगतको निर्वाचनमा हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ। हामीले हाम्रा कमजोरीहरू बुझ्न सकेनौँ। हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ। हामीले आन्तरिक एकता कायम गर्न सकेनौँ। हामीले जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ’, उनले भने।
उनले चुनावी विजयका लागि जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न, प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्न र नेतृत्वको वरिपरि गोलबन्द हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे।
एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पुनर्निर्माणको आवश्यकता औँल्याएको उल्लेख गर्दै थापाले राष्ट्रियता र लोकतन्त्रको पक्षमा राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने बताए।
आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूको विजय सुनिश्चित गर्न पूर्वतयारी, संविधान रक्षाका लागि कानुनी संघर्ष तथा जनसम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
पार्टीद्वारा आयोजित दुईदिने राष्ट्रिय भेलालाई उनले नयाँ आधारमा नयाँ एकता र नयाँ संकल्पको अभिव्यक्तिका रूपमा व्याख्या गरे। केन्द्रीय कमिटीले निर्धारण गरेका ‘दुई कार्यभार र पन्ध्र काम’ पूरा गर्न राष्ट्रिय भेला महत्वपूर्ण भएको उनले बताए।
पछिल्लो राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै थापाले भूराजनीतिक शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढेको र सरकारप्रति जनआक्रोश चुलिँदै गएको दाबी गरे।
‘अहिले भूराजनीतिक शक्तिहरूबीच संघर्ष तीव्र बन्दै गएको छ। लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढ्दै गएको छ। जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको छ। सरकारप्रति जनतामा आक्रोश चुलिँदै गएको छ। पछिल्ला घटनाक्रमहरूले संसदीय, सडक तथा कानुनी संघर्षमा विजयको संकेत दिइरहेका छन्’, उनले भने।
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नरहेको बताउँदै थापाले पार्टीले केन्द्रीय कमिटीबाट पारित निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया