चन्द्रागिरिको सार्वजनिक जग्गा कम्पनीका नाममा दर्ता गर्नेविरुद्ध विशेष अदालतमा मुद्दा

चन्द्रागिरिको सार्वजनिक जग्गा कम्पनीका नाममा दर्ता गर्नेविरुद्ध विशेष अदालतमा मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— चन्द्रागिरि नगरपालिकामा रहेको सार्वजनिक जग्गा निजी कम्पनीका नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय कलङ्कीका मालपोत अधिकृत शिवप्रसाद रिमाललगायत ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

चन्द्रागिरि नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा ‘सुयल हाउजिङ कम्पनी’का नाममा दर्ता गरेको भन्दै अख्तियारले नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनीको वारेस दीपेन्द्र विक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेल विरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुले दुई करोड २१ लाख भ्रष्टाचार गरेको पाइएको छ।

यस्तै आयोगले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मिया विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोहियानी जग्गा छुटाउन रु २५ हजार घुस लिएको अभियोग वडाध्यक्ष श्रेष्ठमाथि लागेको छ ।

इलाका प्रशासन कार्यालय राम गोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । नागरिकताको प्रमाणपत्र बनाउन सहज गरिदिने भन्दै सेवाग्राहीसँग सिंहले रु चार हजार घुस मागेको अभियोग लागेको छ ।

त्यस्तै आयोगले नापी कार्यालय नवलपरासीमा कार्यरत नापी सर्वेक्षक छत्रबहादुर ठकुल्ला विरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । सर्वेक्षक ठकुल्लाले सेवाग्राहीसँग रु २० हजार घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादवलाई रु ३० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । जग्गा नाप गरी रेखाङ्कन गर्ने प्रयोजनका लागि विभिन्न कारण बनाइ आलटाल गरी घुस मागेको उनीमाथि आरोप लागेको छ । आयोगले यादवलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
–––