काठमाडौं – वि.सं. २०५८ को जेठमा आएर नेपालमा एक अकल्पनीय अत्यन्त दुःखद घटना घट्यो । जो सबैका निम्ति त्राशदीपूर्ण थियो, आश्चर्यकारी थियो । अचानक ममाथि ठूलो बज्रपात भयो । सोच्दै नसोचेको आफ्नै वंश नाशको पीडा मैले भोग्नु र्पयो । राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित मेरा दाजु–भाउजू, भाइ–भतिज, धेरैको वियोगको वेदना भोग्नु र्पयो ।
जेठ १९ गतेको त्यो अकल्पनीय त्रासदीपूर्ण पीडादायी घटना मेरा आँखामा प्रत्यक्ष रहेन । म राजधानी बाहिर थिएँ, घटना उप्रान्तको विभत्स दृष्य मात्र मैले देख्नु र्पयो, सहनु र्पयो । दरबार भित्रको त्यो कार्यक्रममा मेरी श्रीमती कोमल पनि सम्मिलित थिइन् । त्यो घटनामा मेरी श्रीमतीलाई भगवानले कसरी बचाए कुन्नि, उनीलाई पनि गोली लागेको थियो । ठूलै शल्यकृयापछि पनि अझै पनि उनको शरीरमा गोलीका टुक्राहरु बाँकी रहेको कुरा चिकित्सकहरु व्यक्त गर्दछन् । मलाई कताकता पीडाबोध भइरहन्छ ।
त्यतिखेर परिस्थिति, विधि र परम्पराको बाध्यता भित्र रहेर मलाई नेपाल राष्ट्रको राजा बन्नुपर्ने अवस्था आयो। मैले सार्वजनिक, औपचारिक, अनौपचारिक तथा आम साञ्चारिक क्षेत्रको त्यो पीडा एवं बाध्यता पटक–पटक अभिव्यक्त पनि गरिसकेको छु । मैले धेरै ठाउँमा भनेँ,–प्रकृतिमा रमाएको र आफ्नै भावनामा बगेको एक राष्ट्रभक्त चरित्र मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन ।
तर नेपालको परम्परा, संवैधानिक व्यवस्था तथा तत्कालीन घटनाचक्रको अवस्था भित्र रहेर मैले नेपालको राजगद्दी सम्हाल्नु पर्यो । नेपाली राजपरम्पराको लोककल्याणकारी आदर्शकै अवलम्बन गरेर अब मैले राष्ट्र, राष्ट्रवासी र राष्ट्रिय व्यवस्था अवस्थामा आफूलाई लगाउनु र्पयो, लगाएँ, लागेँ र प्रजातान्त्रिक आदर्शलाई अगाडि बढाउँदै आफूलाई संवैधानिक दायरा अनुरुप नै आफ्नो धर्म निर्वाह गरेँ ।
नेपालको राजदरबार भित्र भएको अकल्पनीय घटना पश्चात् आएको राजनीतिक घटनाक्रमको श्रृङ्खलामा फेरि पनि अनेकथरी गतिविधिहरु भए । तत्कालिन संवैधानिक व्यवस्था भित्र अनेक व्यवधानहरु खडा गर्ने बखेडा विद्रोह आदि भए । संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय शासन प्रणालीलाई चल्न नदिन अनेक अवरोधक परिस्थितिहरु पैदा भए । चल्दै आएको सुचारु परिपाटीले काम नचलेपछि अरु कुनै वैकल्पिक सोचले केही हुन्छ कि भनेर सोचियो । वार्ता सम्वाद, सहमति र सुचारु गतिविधिका अनेक उपायहरु पनि गरियो ।
वि।सं। २०६२्६३ र ६४६५ सम्म आइपुग्दा देशको परिस्थितिले के–के कोल्टो र्फेयो । त्यतिखेर कतिलाई अतितको बोध हरायो, कतिलाई भविष्यको अनेक सपना तानाबानाले तान्यो । के–के भयो के–के । राजनीतिमा देशी विदेशी र राज्य व्यवस्थाका दिग्गज पण्डितहरु नै दिग्भ्रमित भएपछि मैले राजपाठ परित्यागको एउटा सामयिक अठोट गरे । उदारतापूर्वक परिवर्तनकारी शक्तिहरुबाटै यो मातृभूमिको उत्तरोत्तर प्रगति होला कि भन्ने सोच राखेर नासोका रुपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएँ ।




प्रतिक्रिया