विराटनगर – तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारीबाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्।
काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्।
सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए। प्रदेश १ मा तरकारी र फलफूल सबैभन्दा बढी भित्रिने झापाको काँकडभिट्टा नाका हो।
यस्तै विराटनगर भन्सारबाट पनि सोमबारदेखि पूर्ववत् रुपमा तरकारी र फलफूल बोकेका भारतीय गाडी नेपाल भित्रिएका छन्। काँकडभिट्टा नाकाबाट भित्रिएका फलफूल र तरकारी बिर्तामोडस्थित कृषि थोकबजार हुँदै देशका विभिन्न सहरमा पुर्याइन्छन् भने विराटनगर भन्सारबाट भित्रिएको विराटनगरस्थित गुद्री बजारसहित विभिन्न स्थानमा पैठारी हुन्छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया