राम मन्दिरको ३७० रोपनी जग्गा गायब

राम मन्दिरको ३७० रोपनी जग्गा गायब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ। कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए।

अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ। काठमाडौंका नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ। जग्गाबाट खासै आयस्ता पनि आउँदैन। वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेको रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए।

‘सबै जग्गा मोहीले कमाएका छन्’, उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन्।’ निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन। यस्तै जग्गामा कति मोही छन् भन्ने तथ्यांक छैन । सदस्यसचिव राणा भन्छन्, ‘सरकारसँग त विवरण छैन, हामीसँग के हुन्छ ? ’ मन्दिरको आर्थिक स्रोत चन्दा, दक्षिणा, भेटी तथा मन्दिर प्रांगणमा सेवासुविधा दिएबापत विवाह, व्रतबन्धबाट प्राप्त हुने शुल्क मात्र हो।

मन्दिरका कार्यालय सचिव वसन्त खड्काले जग्गाजमिनको आयस्ता नआउने बताए। उनले भने, ‘गुठीको जमिन कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जानकारी छैन।’ उनले सामाखुसी, भैंसीपाटी, गोंगबुलगायत ठाउँमा जग्गा छ भन्ने सुनेको बताए।

विगतमा गौशाला पशुपतिनाथ नजिक बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर नेपालको धनी मन्दिरका रूपमा गनिन्थ्यो। राम मन्दिरजस्तो ढाँचाको गुम्बज शैलीको मन्दिर नेपालमा अर्को नरहेको पुरातत्त्वविद् बताउँछन्। विगतमा जग्गाको आम्दानीबाटै मन्दिरको पूजाआजा, जात्रा, मेला सञ्चालन हुन्थ्यो।यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।