काठमाडौं – अदालतबाट पक्राउ पुर्जी जारी भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउको प्रक्रिया थालेको छ। प्रहरीको अनुरोधमा महराविरुद्ध जबजस्ति करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई न्यायीक हिरासतमा लिने प्रक्रिया शुरु भएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ।
सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी दिने तयारी थालेको उच्च स्रोतले जानकारी दियो। उपसभामुखलाई जानकारी दिएपछी प्रहरीले महरालाई पक्राउ गर्नेछ। फौजदारी कसुरमा अदालतको पक्राउ आदेशसंगै महरा अब प्रहरी हिरासतमा बस्नुपर्नेछ।
संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफुलाई बलात्कार गरेको आरोप लगाएपछि नैतिकताको कारण देखाउदै पदबाट राजिनामा दिएका महराविरुद्ध गत शुक्रबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा किटानी जाहेरी दर्ता भएको थियो।
जाहेरी प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त बानेश्वरले महरालाई पक्राउ गर्न पक्राउ आदेशको माग गर्दै आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा मिसिल पेश गरेको थियो। अदालतले प्रहरीको माग बमोजिम पक्राउ पुर्जी जारी गरेपछि महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ।
उच्च स्रोतका अनुसार अदालतको आदेश बमोजिम महरालाई आजै पक्राउ गर्ने प्रहरीको तयारी छ।प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा घटनाको दिन (असोज १२ गते) महरा रोशनीको कोठामा गएको पुष्टि भएको छ ।




प्रतिक्रिया