काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियां राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् । उनले भनिन् ,‘२३ वर्षपछि चिनियां राष्ट्रपति नेपाल भ्रमणमा आउंदै हुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहांलाई भव्य स्वागत गर्न चाहन्छौं ।’
रिपोर्टर्स क्लब शुक्रबार नेपालले सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले गिरिजा प्रसाद कोइरालाले भारत र चीनबीच राम्रो सम्बन्ध भयो भने त्यसले नेपाललाई हित र राम्रो हुन्छ भन्ने गरेको सुनाउंदै भनिन्,‘गिरिजाबाबु भन्नुहुन्थ्यो भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । नेपालको उन्नति हुन्छ भन्नुहुन्थ्यो । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । ’
सीको भ्रमणको पूर्वसन्ध्यामा नेपालीहरुले सबै कुरा बिर्सिएर विकासको कुरा गर्नु भनेको यसले एउटा ठूलो परिवर्तन ल्यांउंदैछ भन्ने संकेत भएको पनि नेतृ कोइरालाको टिप्पणी छ ।
उनले नेपालमा रेल ल्याउने कुरा खुशीको कुरा भएको बताईन् ।उनले भनिन् ,‘केरुङ–काठमाडौं रेलको जो कुरा छ, हामी सबै अनुदान नै खोज्छौं । हामी नेपालीहरुको बानी बिग्रिएको छ । हामीले पनि मेहनत गर्नुपर्छ । मगन्तेजस्तो सबै कुरा लिनु राम्रो होईन । निःशुल्क देउ भन्नुहुंदैन् । हामीले ऋण लिनुपर्छ । सहुलियत व्याजमा ऋण पाउनुपर्छ । रेल होस वा अरु कुनै परियोजना बनाउंदा त्यसमा हामीले आफ्नो अपनत्व लिनुपर्छ । ’




प्रतिक्रिया