काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभइ अनावश्यक बल प्रयाेगका कारण भएकाे निश्कर्ष निकाल्दै संलग्न प्रहरी अधिकारीमाथि मुद्दा चलाउन सरकार सरकारलाई निर्देशन दिएकाे छ।
गत असार५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलमा पाैडेल मारिएकाेमा प्रहरीले दोहोरो भिडन्तमा उनी मारिएका दाबी गर्दै आएकाे थियाे।
तर आयोगको अनुसन्धानबाट पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको पुष्टि हुन नसकेको जनाइएकाे छ। र, आयोगले घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रहरी दोहोरो भिडन्त भने पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नै प्रश्न उठाएका थिए । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकर लगायतकै सांसदले मृतकको हात ६/७ ठाउँमा भाँचिएको भन्दै दोहोरो भिडन्त भएको प्रहरी दाबीमा शंका गरेका थिए । मृतकको परिवारको पनि यही दाबी थियो।
यसअघि प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी सहित सत्तापक्षकै सांसदले नक्कली भिडन्तको आशङ्का व्यक्त गर्दै गृहमन्त्रीको जवाफ माग गरेका थिए। जवाफमा थापाले दाेहाेर भिडन्तमा पाैडेल मारिएकाे जिकिर गरेका थिए।
एमालेबाट राजनीतिमा चिनिएका पौडेल माओवादी, चुरेभावर हुँदै पछिल्लो समय विप्लव समूहमा सक्रिय थिए ।
दोस्रो संविधान सभाको चुनावमा वैद्य समूहमा रहेर उनले चुनाव बहिष्कारमा ठूलो भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी वैद्य र विप्लवबीचको पार्टी फुटेपछि विप्लव नेतृत्वको नेकपामा गएका थिए । २०७४ सालमा सिन्धुलीको कमाण्ड सम्हालेका पौडेल पछिल्लो समय सर्लाही इञ्चार्ज बनेका थिए ।




प्रतिक्रिया