आलम प्रकरण : १० जनालाई जन्मकैद माग

आलम प्रकरण : १० जनालाई जन्मकैद माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।

११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र एक जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिएका छन् ।

प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए । उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (१) को कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) कसुर अपराधअनुसार कारबाहीको माग भएको कटुवालले बताए ।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा सहित थप दुई कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ । प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो ।
सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यान लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारेको छ । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको मुद्दा चलाउन रायसल्लाहसहितको प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता नवीन कार्कीले बताए ।

सबै कसुरउपर अनुसन्धान सकेर सजाय माग दाबीसहित सरकारी वकिलको कार्यालयमा मिसिल बुझाइएको उनले बताए । आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला मृतकका परिवार, प्रत्यक्षदर्शी, गाउँले, त्यसबेलाका स्थानीय र केन्द्रीय प्रहरी अधिकारीहरू तथा घटनामा परेर बाँच्न सफल भएका व्यक्तिसमेतको बयानका आधारमा राजपुरमा त्यसबेला विस्फोट भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । यो समाचार आजबो राजधानी दैनिकमा छ ।