‘कमरेड विष्णु रिमाल प्रधानमन्त्रीका भरोसायोग्य सारथी’

‘कमरेड विष्णु रिमाल प्रधानमन्त्रीका भरोसायोग्य सारथी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजीनामा नदिएको खुलेको छ ।

प्रधानमन्त्री ओलीले केही दिन अगाडि सचिवालयका सल्लाहकार र स्वकीय सदस्यहरुलाई बोलाएर आफू नयाँ ढङ्गले अघि बढ्न खोजेको र मार्ग प्रशस्त गराएर राजीनामा दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार ईन्द्र भण्डारी, सूचना तथा प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, रामशरण बजगाईंलगायत सचिवालयमा रहेका १२ जनाले राजीनामा बुझाएका छन् ।

तर, मुख्य सल्लाहकार रिमालले भने अझै राजीनामा दिएका छैनन् । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शङ्कर पोखरेलले रिमालले अझै राजीनामा नदिएको संकेत गरेका छन् ।

उनले रिमालको बर्हिगमनको हल्ला ‘हल्ला’मै सीमित होस् भनेर बताएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रमको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’

प्रधानमन्त्रीको सपनालाई मूर्त बनाउन रिमाल नै भरोसायोग्य व्यक्ति भएकाले उनलाई हटाउन नहुने पोखरेलले बताएका हुन् ।

प्रधानमन्त्रीले ‘आवश्यक परे बोलाउँला अहिले राजीनामा दिएर बाटो सहज बनाइदिनूस्’ भनेकाले केही सल्लाहकार, सचिवालयका सदस्य दोहोरिने सम्भावना पनि छ । त्यसमा रिमाल पनि परुन् भन्ने आकांक्षा पोखरेलको रहेको देखिन्छ ।