रौतहट – पूर्वमन्त्री एवं कांग्रेसका सांसद मोहम्मद अफताव आलम शुक्रबार राति ललितपुरस्थित नक्खु जेल चलान भएका छन् । शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएपछि नक्खु कारागार चलान गरिएको हो ।
जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालले १२ वर्षअघि भएको बम बिस्फोट घटनाका घाइतेलाई इँटाभट्टामा जलाइएको आरोप लागेको आलमलाई थुनामा राख्न आदेश दिएका थिए । जाहेरवाला, पीडित र सरकारका साक्षीहरुको सुरक्षा प्रदान गर्नुको साथै आवश्यकताअनुसार संरक्षण गृहमा राख्न अदालतले आदेश दिएको छ ।
आठ दिनको थुनछेक बहसपछि शुक्रबार अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई प्रतिकूल प्रभाब पार्न सक्ने भएकाले कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।




प्रतिक्रिया