नेम्वाङलाई सभामुख बनाउन ओलीले लिए अडान, पूर्वमाओवादी असन्तुष्ट

नेम्वाङलाई सभामुख बनाउन ओलीले लिए अडान, पूर्वमाओवादी असन्तुष्ट


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख चयन प्रक्रियाले विवाद उत्पन्न गराएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसक्दा पार्टीभित्र विवाद उत्पन्न भएको हो ।

अध्यक्ष ओलीले आफू निकट सुवास नेम्वाङलाई सभामुख बनाउने अडान लिएपछि पूर्वमाओवादी पक्षले असन्तुष्टी जनाएको हो । माओवादीले पहिले नै सभामुख पाइसकेकाले अब आफूहरुले पाउनुपर्ने माग पूर्वएमाले पक्षले राख्दै आएको छ । अध्यक्ष अ‍ोलीले पूर्वसहमतिअनुसार आफूहरुले सभामुख पाउनुपर्ने अडान लिएका छन् ।

माओवादीले भने एकतापूर्व नै सभामुख आफ्नो भागमा परेकाले अब पनि सभामुखमा आफ्नो दाबी रहने बताउँदै आएको छ । एमाले र माओवादीबीच एकतापूर्व साढे दुई वर्ष सभामुखमा आलोपालो गरेर चलाउने सहमति भइसककेको छ ।

पछिल्लो समय माओवादीका नेताहरुले अध्यक्ष प्रचण्डलाई सभामुखबारे पहिलेकै सहमति कायम राख्न सुझाव दिएका छन् । प्रचण्ड निवास खुमलटार पुग्ने नेताहरुले एकतापूर्वको सहमतिलाई कार्यान्वयन गर्न सुझाव दिएका हुन् । माओवादीबाट सभामुखमा अग्नी सापकोटाको नाम चर्चामा छ ।

‘माओवादी पक्षका साथीहरुलाई अरु कुनै जिम्मेवारी दिएर सभामुख आफैं राख्ने पक्षमा ओलीजी हुुनुहुन्छ,’ नेकपाका एक नेताले भने, ‘उहाँ (ओली) ले सभामुखको विषयमा पूर्वसहमतिअनुसार नै अगाडि बढौं भन्नु भएको छ । प्रचण्डसँग उहाँले सुवास नेम्वाङ जिम्मेवारी विहीन हुनुहुन्छ । उहाँलाई सुभामुखको जिम्मेवारी दिऔं भन्नुभएको छ ।’

यता उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सभामुख पद आफूले पाउनुपर्ने दाबी गर्दै आएकी छन् । उनलाई राष्ट्रपति विद्या भण्डारीको सपोर्ट छ ।

पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन सुरू भएको छ । सभामुख चयनमा नेकपाभित्र सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन । अर्को बैठक पुस २७ गते बोलाइएको छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।