काठमाडौं – तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधिसभा सभामुख पदको उम्मेदवार चयन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सकस परेको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगातारको बैठकले कुनै निर्णय दिन सकेको छैन ।
पूर्वएमाले र माओवादीबीच भएको भागबण्डामा पूर्व माओवादीले पाएको सभामुद पदमा हाल प्रधानमन्त्री ओलीले दाबी गर्दै आएपछि विवाद देखिएको छ । राष्ट्रपति, प्रधानमन्त्री, संसदीय दलको नेता, राष्ट्रियसभा अध्यक्ष सबैमा पूर्व एमालेले पाएको बेला सभामुख पद मात्रै पूर्व माओवादीले पाएको थियो ।
एउटा पदमा पनि पूर्व एमालेबाट ओली पक्षले दाबी गरेपछि प्रचण्ड दबाबमा परेका छन् । पार्टी एकताको भावना अनुसार ओलीले प्रचण्डबाट प्राप्त सभामुखको नाममा अनुमोदन गर्नुपर्ने भएपनि त्यसमा सहमति हुन सकेको छैन । प्रचण्डले सभामुखमा अग्नी सापकोटाको नाम प्रस्ताव गरेको नेकपा स्रोतले जनाएको छ ।
स्वाभाविक रुपमा पूर्व माओवादी र प्रचण्डको दाबी रहने सभामुख पदमा ओली पक्षले दाबी गर्न खोजेपछि सभामुखको उम्मेदवार चयन प्रक्रिया लम्बिँदै गएको छ । प्रतिनिधिसभा बैठक लामो समयसम्म स्थगित भइरहेको छ । ओली पक्षबाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नाम अगाडि आएको छ ।
पटक–पटकका छलफलमा ओलीले सभामुखको अडान नछाड्ने देखेपछि प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्त राखेका छन् । पार्टी एकताको सम्मानजनक भाव कायमै राख्न पूर्व माओवादीलाई एउटा प्रमुख पद दिनुपर्ने प्रचण्डको अडान छ । सभामुखमा पूर्व एमालेको अडानलाई स्वीकार्ने गरी प्रचण्डले प्रधानमन्त्री पद पूर्व माओवादी अर्थात् आफूले पाउनुपर्ने नयाँ उपाय निकालेको नेकपा स्रोतले जनाएको छ ।
प्रचण्डले सोमबार र मंगलबार भएका छलफलमा सभामुख पूर्व एमालेलाई छाड्दा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने शर्त राखेका छन् । प्रधानमन्त्री ओलीले सभामुख पदका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउलान् कि नबलाउलान् ? यो प्रश्नको जवाफ पाउन केही समय पर्खनैपर्ला । तर प्रचण्ड सभामुख पद पूर्व एमालेलाई त्यत्तिकै छाड्ने अवस्थामा देखिएका छैनन् ।
प्रचण्डले आफू प्रधानमन्त्री बन्ने अवस्थामा ओलीलाई कार्यकारी अध्यक्ष भएर पार्टी चलाउन र सभामुख पूर्व एमालेलाई बनाउन शर्त राखेका छन् । पार्टी एकता हुँदा नै ओली–प्रचण्डले आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेपछि कार्यकारी अध्यक्ष हुने शर्तमा प्रचण्डले प्रधानमन्त्रीको अडान छाडेका थिए । प्रधानमन्त्री परिवर्तन हुँदा राजनीतिक स्थिरता नभएको जस्तो देखिने भएकाले प्रचण्डले उतिबेला प्रधानमन्त्रीको अडान छाडेपछि सबै पद पूर्व एमालेलाई छाड्न नसकिने पूर्व माओवादी पक्षको स्पष्ट अडान रहेको छ ।
ओलीसँग असन्तुष्ट सबैको ध्रुवीकरण
प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेका नेकपाका सबै शीर्ष नेताले गोप्य रुपमा छुट्टै भेला समेत गरेका छन् । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको भैसेपाटीस्थित निवासमा ओलीसँग असन्तुष्ट रहेका नेताको गोप्य बैठक भएको हो । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन नसकिने ओलीले स्पष्ट पारेपछि राष्ट्रियसभा उम्मेदवार नबनेका गौतमले भेलाको बन्दोबस्त मिलाएका छन् ।
गौतमको सक्रियतामा भएको भेलामा सभामुख चयन र अमेरिकी सहयोगको एमसीसी परियोजनाका विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी भएका छन् । बुधबार २ घण्टासम्म भएको भेलामा ओली निकट मानिने रक्षामन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल सहभागी थिएनन् । गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा भने चीन भ्रमणमा छन् ।
पार्टी भित्रको भागबण्डा र शक्ति सन्तुलनका हिसाबले प्रचण्डले सभामुख पद पूर्व एमालेलाई छाड्न सक्ने अवस्था देखिँदैन । पूर्व माओवादी पक्षले अडान नछाड्न प्रचण्डलाई खबरदारी दबाब दिँदै आएका छन् । ओलीले पनि सुवासचन्द्र नेम्वाङलाई जसरी पनि सभामुख बनाउने अडान लिएका छन् ।
नेकपाभित्र देखिएको ध्रुवीकरण र शक्ति सन्तुलनका लागि ओलीले प्रधानमन्त्री पद छाड्न सक्छन् ? प्रचण्डले सभामुख छाडेर प्रधानमन्त्री पद पाउछन् ? यी प्रश्नको जवाफ ओली–प्रचण्डबीच हुने सहमतिले दिनेछ ।




प्रतिक्रिया