विप्लवले लिएको बाटोले फाइदा गर्दैन् :प्रचण्ड

विप्लवले लिएको बाटोले फाइदा गर्दैन् :प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेकपाले लिएको बाटोले फाइदा नगर्ने दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)बाट सत्तारुढ नेकपामा प्रवेश गरेका मोहन कार्कीलाई शनिबार स्वागत गर्ने क्रममा प्रचण्डले विप्लव नेकपाले लिएको बाटोले फाइदा नगर्ने दाबी गर्दै उनले अप्ठ्यारो नमानिकन नेकपामा प्रवेश गर्न आग्रह गरेका हुन् ।

उनले देशलाई हानी नगरिकन मूलधारमा प्रवेश गर्न समेत विप्लवलाई अनुरोध गरे। सबै कम्युनिस्टको मार्ग निर्देशक सिद्धान्त समाजवाद भएकाले त्यसको मोडेलमा बहस गर्न भने सकिने उनले बताए। तेश्रो महाधिवेशनसम्म नेपालका कम्युनिस्टहरुमा एकता रहेपनि विसं २०१९ पछि छिन्नभिन्न हुने क्रम सुरु भएको उनले स्मरण गरे। पूर्व एमाले र माओवादी केन्द्रको एकताले कम्युनिस्टहरु एकै स्थानमा उभिने क्रम सुरु भएको उनको भनाइ छ।

वैचारिक विवादले संसारभर कम्युनिस्ट विभाजित भएको सुनाउँदै उनले कम्युनिस्ट पार्टीमा विभाजन आउनुमा आन्तरिक र वाह्य कारण रहेको औंल्याए। शनिबार नेकपामा प्रवेश गरेका कार्कीलाई युद्धकालमा पूर्व माओवादीले उपत्यकामा खटाएको थियो। पछिल्लो समय कार्की विप्लव समूहमा पोलिटब्यूरो सदस्य थिए।