एजेन्सी– अमेरिकाले इरानमा लडाकु सैन्य विमानमार्फत हवाई हमला गरेको छ ।
शुक्रबार अमेरिकाले दक्षिणी इरानमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
दुई देशबीच स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षरका लागि उच्चस्तरीय संवाद जारी रहेका बेला भएको यो आक्रमणले फेरि युद्ध चर्कन सक्ने आँकलन गरिएको छ ।
इरानका तर्फबाट युद्धविराको सर्त उल्लंघन भएकाले आक्रमण गरिएको अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’ ले दाबी गरेको छ ।
हर्मुज जलमार्गमा एक जहाजमाथि इरानले ड्रोन हमला गरेपछि जवाफी कारबाही गरिएको अमेरिकाको दाबी छ ।
इरानी क्षेप्यास्त्र र ड्रोन भण्डारण स्थललाई टार्गेट गरेर आक्रमण भएको बीबीसीले जनाएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले युद्धविराम सम्झौता तोडेको आरोप लगाएका छन् ।
आफूहरुले सम्झौताको पूर्ण पालना गरेको भए पनि इरान त्यसमा इमान्दार नभएको आरोप उनको छ ।
वार्ताबाटै समस्या समाधानका लागि अमेरिका तयार रहेको भन्दै उनले यदि हिंसाको बाटो रोज्ने भए त्यसको जवाफ हिंसाबाटै दिने चेतावनी भान्सको छ ।
इरानले पनि दक्षिणी बन्दरगाह सिरिक नजिकै अमेरिकी आक्रमण भएको पुष्ट गरेको छ ।
हर्मुजमा आक्रमण लगत्तै अमेरिकी सैन्य अड्डाहरुलाई निशाना बनाएर सैन्य कारबाही गरिएको इरानको भनाइ छ ।
हर्मुज जलमार्गको नियम उल्लंघन गरेका कारण चेतावनीस्वरूप क्षेप्यास्त्र प्रहार गरिएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले जनाएको छ ।
आईआरजीसीले विज्ञप्तिमार्फत अमेरिकाले फेरि आक्रमण गरेमा थप कडा प्रत्याक्रमण गरिने चेतावनी दिइएको छ ।
इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका अध्यक्ष इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युद्धविरामप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।
युद्धविराम उल्लंघनको परिणाम भयावह हुने र अमेरिका पछुताउने उनले बताए ।




प्रतिक्रिया