काठमाण्डु– सरकारले नेपालतर्फबाट पनि भारतीय सीमा अतिक्रमण भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सही भएको दाबी गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सष्मित पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति सही भएको भन्दै बचाउ गरे ।
मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिने क्रममा सञ्चारकर्मीको जिज्ञाशाको जवाफ दिँदै उनको सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति साँचो भएको तर्क गरे ।
उनले आफ्नो अभिव्यक्ति पुष्टि गर्न प्रधानमन्त्री संसदमा उभिएर जवाफ दिनसमेत तयार रहेको बताए ।
आइतबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा कब्जा गरेको प्रधानमन्त्री भएपछि थाहा पाएको’ बताएका थिए ।
सार्वभौमसत्ता र भौगोलिक अखण्डताविरोधी उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरुले संसदमा नाराबाजी गर्दै आएका छन् ।
‘प्रधानमन्त्री उत्तर दिन तयार हुनुहुन्छ’, उनले भने, ‘आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’
प्रधानमन्त्रीले कतिपय स्थानमा भारतले उपभोग गरिरहेको जमिन नेपालमा र नेपालले उपभोग गरेको जमिन भारतमा पर्न सक्ने बताएको व्यख्या गरे । उक्त अभिव्यक्ति समत्य भएको दाबी उनको छ ।
सीमा विवाद समाधान गर्नेबारेको कूटनीतिक प्रयास स्वरुप गठन गरिएको संयन्त्रबाट आएको विषय प्रधानमन्त्रीले सांसदमा बोलेको पोखरेलले स्पष्ट गरे ।
उनले दुई देशबीचको सहमतिमै सीमा समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।
सीमा समस्याबारे नेपालले ‘डिप्लोमेटिक नोट’ पठाएको र भारतबाट जवाफसमेत आइसकेकाले वार्तामा बसेर समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पोखरेलको भनाइ थियो ।




प्रतिक्रिया