शारदा अधिकारीपछि चरिकोटका ठेकेदारको फोटो गाडीमा टाँसियो


काठमाडौं – पूर्वाधार विकासमा भएको अनावश्यक ढिलाइले वाक्क बनेका सर्वसाधारणले आन्दोलनका रचनात्मक उपाय अवलम्बन गरिरहेका छन् । केही दिनअघि ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोको पोस्टर बनाएको तस्बिर र समाचार भाइरल बनेपछि अन्यत्रका जनताले पनि यस्तै आन्दोलन थालेका छन् ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ५५ किलोमिटर सडकखण्ड भारतीय एक्जिम बैंकको ऋण लगानीमा सरकारले चार वर्षअघि करिब १ अर्ब २० करोडको लागतमा विस्तार गर्न सुरु गरेको थियो ।

ठेकेदारले समयमा काम नगरेको भन्दै दोलखा जाने बसमा उनीहरुको फोटोको पोस्टर बनाएर टाँस्न थालिएको छ । यो आयोजनाको ठेक्का पाएका कम्पनीहरुमध्ये शंकरमाली निर्माण सेवाका सञ्चालक दीपक सापकोटाको तस्बि अहिले बसहरुमा टाँसिएको छ ।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले समयमै काम नगर्ने ठेकेदारमाथि विभागले पनि कारबाही अघि बढाएको बताए । उनले यो काम अलपत्र पार्ने ठेकेदारलाई पनि आर्थिक जरिवाना गराइसकिएको र उनीहरुले यसपटक पनि काम अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी दिए ।

खाडीचौरदेखि सिन्धुपाल्चोककै मुडे र मुडेदेखि चरिकोटसम्म गरेर दुई खण्डमा यसको ठेक्का लागेको छ। खाडीचौर–मुडे २५ किलोमिटर खण्डको संयुक्त रूपमा जिम्मा लिएका नेपाली कम्पनीहरू सुनौला खिम्ती र गौरीपार्वतीले बीचैमा काम छाडेका थिए ।

मुडेदेखि चरिकोटसम्मको दोस्रो खण्डमा भने काम झन् लथालिंग बनेको छ । यसको संयुक्त रूपमा ठेक्का लिएको ठेकेदार कम्पनी शंकर माली र सुनौला खिम्तीले पनि काम अलपत्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement