काठमाण्डु – बारा र सर्लाहीमा भएको दुर्घटनाहरूमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलिप चौधरी छन् ।
ना ३ ख ५६१० नम्बरको ट्रकले ना४३ प ५१२२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकलमा सवार उनीहरू गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइए पनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।
यस्तै सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलंगवा–नवलपुर सडकखण्डमा मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
यसैबीच सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलंगवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको छ ।
तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको हो । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा जिप दुर्घटना हुँदा २० जना घाइते भएका छन्। मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिल बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनाका घाइते भएका मध्ये १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुने सक्ने आशंका प्रहरीले गरेको छ ।




प्रतिक्रिया