सवारी दुर्घटनामा एकको मृत्यु,सात घाइते


चितवन – चितवनमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको प्रदेश ३–०३००१ह ४४७ नंको अटोरिक्सा र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना५०प ४५५० नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए । मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताए । उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement