काठमाण्डु- नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको अदालत स्रोतले जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पाण्डेलाई मंगलबार राति पक्राउ गरेको थियो।
पक्राउ कानुनविपरीत भएको दाबी गर्दै उनकी श्रीमती निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिटमा पाण्डेको तत्काल रिहाइको माग गरिएको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका ६ बसपार्क क्षेत्रबाट मंगलबार राति करिब ८ बजे पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको आरोपमा पाण्डेमाथि अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया