काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया निर्यात गर्न लागिएको २ लाख ५७ हजार ४०० रुपैयाँ बराबरको नेपाली तथा भारतीय चुरोट प्रहरीले बरामद गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन ३ गते कार्गो कम्प्लेक्स भवनमा पिक एभिएसन प्रालिका एजेन्ट अभिनव राईमार्फत अष्ट्रेलियामा रहेका सौरभ भण्डारीको नाममा पठाउन लागिएको ३५ वटा कार्गो पोकामध्ये एउटा पोकामा शंका लागेपछि भन्सार र नेपाल प्रहरीको संयुक्त टोलीले एक्सरे स्क्रिनिङ गरी जाँच गरेको थियो ।
जाँचका क्रममा ‘डग च्यु (कुकुरको खाना)’ भनेर उल्लेख गरिएको पोकाभित्र कागजातमा उल्लेखित सामग्री नभई भन्सार घोषणा नगरी अवैध रूपमा निर्यात गर्न लागिएको ठूलो परिमाणमा चुरोट फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका चुरोटमा क्लासिक डबल बर्स्ट ब्रान्डका ३४ बन्डल (३४० प्याकेट), गोल्ड फ्लेक ब्रान्डका ३ बन्डल (३० प्याकेट) तथा शिखर आइस रश ब्रान्डका ३१ बन्डल (३१० प्याकेट) रहेका छन् । ती सबैको अनुमानित मूल्य २ लाख ५७ हजार ४०० रुपैयाँ रहेको सुरक्षा कार्यालयले जनाएको छ ।
घटनापछि नियन्त्रणमा लिइएका सबै ३५ वटा कार्गो पोका आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलमार्फत हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि सुरक्षा निगरानी, स्क्रिनिङ र अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै यस्ता गैरकानुनी गतिविधिविरुद्ध कडाइका साथ कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।




प्रतिक्रिया