एमसीसी अनुमोदनपछि बाक्लियो अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण, तिब्बत हेर्ने मन्त्री आज आउँदै


काठमाण्डु – अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जिया आज काठमाण्डु आउँदैछिन् । वासिङ्टन डीसीबाट मंगलबार भारतको नयाँदिल्ली पुगेकी जिया तीन दिने नेपाल भ्रमणमा आज काठमाण्डु आउन लागेकी हुन् ।

जियासँगै युएसएआईडीकी एसिया मामिला हेर्ने उपसहायक प्रशासक अञ्जली कौरसहितको टोली पनि रहने बताइएको छ । नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँण लगायत प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपमन्त्री जिया तिब्बत मामिलाका मुद्दा हेर्ने भएकाले नेपालमा रहँदा उनले तिब्बती शरणार्थीको विषयमा चासो लिने बताइएको छ । नेपालमा झन्डै १० हजार तिब्बती शरणार्थी छन् । तिनलाई अमेरिकाले शरणार्थी परिचयपत्र दिनुपर्ने आग्रह गर्दै आइरहेको भए पनि नेपालले भने अस्वीकार गर्दै आइरहेको छ ।

उत्तरी छिमेकी चीनसँगको कूटनीतिक सम्बन्धका कारण पनि नेपालले ती शरणार्थीहरूलाई परिचयपत्र दिन सकेको छैन । नेपालले एमसीसी अनुमोदन गरेसँगै नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण बाक्लिएको छ । पछिल्लो समय उपमन्त्री जियाको भ्रमण नेपाल र अमेरिकाको ७५औं कूटनीतिक सम्बन्धलाई जोडेर हेरिए पनि एमसीसी परियोजना अनुमोदनपछि अमेरिकी प्रभाव झनै बढेर गएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जियाको भ्रमणमा मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन भारत र नेपालमा केन्द्रित हुने बताएको छ । सोहि पृष्ठभूमिलाई टेकेर उनले भारतमा रहेका तिब्बतीहरु र हिमाञ्चलस्थित धर्मशालामा पुगेर दलाई लामासँग भेटवार्ता गरेकी छन् ।

त्यस्तै उनले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिहरुसँग बिहीबार बिहान भेटवार्ता गरेकी थिइन् । यसअघि गत वैशाख पहिलो साता अमेरिकी उपसहायक मन्त्री केली केइडरलिङले नेपाल भ्रमण गरेकी थिइन् । वैशाखको ९ देखि ११ सम्म अमेरिकी सांसदको पाँच सदस्यीय टोली नेपाल आइपुगेका थिए ।

अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्टर्न जिलिब्रान्ड (न्युयोर्क)को नेतृत्वमा सिनेटर सेल्डन ह्वाइटहाउस (रोड आइल्यान्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कंगेसनल डिस्ट्रिक्ट, न्युयोर्क) काठमाण्डु आएका थिए ।

त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए । सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी सेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसयता त्यही उच्चस्तरको अमेरिकी पक्षबाट नेपालमा भ्रमण हुन सकेको थिएन । उपमन्त्री जियाको भ्रमण झन्डै एक दशकमा नेपालमा हुन लागेको अमेरिकी अधिकारीहरुको उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement