६ महानगरमा एमालेले पायो ४ उपमेयर, सबै महिला विजयी (सूचीसहित)


काठमाण्डु – ३० बैशाख ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । देशभरका ७५३ स्थानीय तह छन् । जसमा ६ महानगरसहित ११ उपमहानगरपालिका छन् । आगामी पाँच वर्षका लागि ६ महानगरको बागडोर हाँक्नेको टुंगो लागिसकेको छ ।

काठमाण्डुमा बालेन शाह, विराटनगरमा नागेश कोइराला , ललितपुरमा चिरिबाबु महर्जन, पोखरामा धनराज आचार्य, भरतपुरमा रेणु दाहाल र वीरगञ्जमा राजेशमान सिंह आगमी पाँच वर्षका लागि निर्वाचित भइसकेका छन् ।

ती महानगरको प्रमुखमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका उम्मेदवारहरुले बाजी मारेका हुन् । सबैभन्दा बढी स्थानीय तह जितेर पहिलोद दल बनेको नेपाली कांग्रेसले दुई महानगरपालिका जितेको छ । जसमा विराटनगर र ललितपुर रहेको छ ।

वीरगञ्जमा जनतासमाजवादी पार्टी, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादीले विजय हासिल गरिसकेका छन् । त्यस्तै काठमाण्डुमा स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाह विजय भएका छन् । यी ६ वटै महानगरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने एउटा पनि महानगर हात पार्न सकेन ।

महानगर प्रमुखमा शून्य भएको एमालले ४ उपप्रमुख जित्न सफल भएको छ । मतगणना जारी रहेको काठमाण्डु महानगरसहित एमालेले ६ मध्ये चावटा महानगर उपप्रमुखमा जित हात पार्न सफल भएको हो । एमालेले जितेको ४ वटै महानगर उपप्रमुखमा महिलाले नेतृत्व पाएका छन् भने कांग्रेसबाट जित हात पारेका दुवैजना पुरुष रहेका छन् ।

काठमाण्डुमा एमालेकी उम्मेदवार सुनिता डंगोलले जित हात पारेकी छन् ।  नेकपा एमालेले यसपटकको निर्वाचनमा पाँच दलीय सतता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको थियो ।

को–को भए उपप्रमुखमा निर्वाचित ?

सुनिता डंगोल, काठमाण्डु (एमाले)

काठमाण्डु महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले बाजी मारेकी छन् । मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् ।

सामाजिक अभियन्ताका रुपमा चिनिएकी डंगोललाई एमालेले उम्मेदवारी दरखास्त दिने दिनको केही दिनअघि मात्र पार्टीमा भित्र्याएर उपमेयरको टिकट दिएको थियो । स्वतन्त्र रुपमा मेयरको उम्मेदवारी दिने तयारीमै रहेका बेला डंगोललाई एमालेले टिकट दिएको हो ।

प्रष्टवक्ता, मृदुभाषी र माधुर्यताका कारण काठमाण्डुका मतदातामाझ लोकप्रिय डंगोलले यसपटकको स्थानीय तह निर्वाचनमै सबैभन्दा मतान्तरले जित्ने कीर्तिमानको नजिक समेत रहेकी छिन् ।

केही हजारमात्र मत गणना गर्न बाँकी रहेको अवस्थामा डंगोलले ५८ हजार ३३२ मत ल्याएकी छिन् भने उनका निकटम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ हजार ९ सय ५२ मत मात्र ल्याएका छन् ।

यसरी हेर्दा सुनिताले करिब ४० हजार बढी मतान्तरले विजयी हुने निश्चित देखिएको छ । काठमाण्डुका मेयर र उपमेयर दुवै जना स्वतन्त्र रुपमा आफ्ना अभियानमा लागिरहेका व्यक्तित्व हुन् ।

मञ्जली शाक्य बज्राचार्य, ललितपुर (एमाले)

त्यस्तै ललितपुरको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । उनले ठूलो मतान्तरले जित हात पार्दै गर्दा उपमेयरमा भने ललितपुरकी मञ्जली शाक्य बज्राचार्यले बाजी मारेकी छन् ।

उनी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भइन् । २५ हजार ८४ मत ल्याएकी मञ्जलीले प्रतिस्पर्धी माओवादीका बाबुराज बज्राचार्यलाई ७ हजार बढी मतअन्तरले पराजित गरेकी हुन् ।

मञ्जुदेवी गुरुङ, पोखरा (एमाले)

गण्डकी प्रदेशको एकमात्र महानगर पोखराको नेतृत्वका लागि निवर्तमान उपमेयर समेत रहेकी मञ्जुदेवी गुरुङले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै दोस्रोपटक उपमेयरमा निर्वाचित भएकी छिन् ।

अहिलेसम्मका निर्वाचनमा नेकपा एमालेको किल्ला रहेको पोखरा महानगरमा मञ्जुको जितसँगै अझै किल्ला नै रहेको पुष्टी भएको छ । मञ्जुले गठबन्धनकातर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई करिब ४ हजार मतअन्तरले पराजित गर्दै दोस्रोपटक उपमेयरमा निर्वाचित भएकी हुन् ।

महानगर प्रमुखमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन् । पोखरामा मञ्जुले ६० हजार ५४६ मत प्राप्त गर्दै जित हात पारेकी थिइन् भने उनकी प्रतिस्पर्धी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी थिइन् ।

शिल्पा कार्की, विराटनगर (एमाले)

विराटनगर महानगर प्रमुखमा नेपाली कांग्रेसले जित हात पार्दा उपप्रमुखमा नेकपा एमालेकी शिल्पा कार्की विजयी भएकी छिन् । कार्कीले गठबन्धनका तर्फबाट उम्मेदवार भएका उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादवलाई ठूलो मतान्तरले पराजित र्दै जित हात पार्न सफल भएकी हुन् ।

कार्कीले २५ हजार ६८० मत ल्याएकी थिइन् भने यादवले १४ हजार २१९ मत ल्याएका थिए । कार्कीले नेकपा एमालेबाट मेयरपदका उम्मेदवार सागर थापाले भन्दा ४ हजार बढी मत ल्याएकी थिइन् ।

चित्रसेन अधिकारी, भरतपुर (नेपाली कांग्रेस)

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा योपटक पनि माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएक छन् । अधिकारीले निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पराजित गर्दै भरतपुर महानगर उपप्रमुखमा जित हात पारे ।

यसअघि पनि नेपाली कांग्रेसले पाएको उपमेयर पदलाई अधिकारीले रेणु दाहालकै नेतृत्वमा निरन्तरता दिन सफल भए । अधिकारीले ५२ हजार ८ सय ३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३०६११ मत ल्याएकी थिइन् । अधिकारीले गुरुङलाई २२ हजार भन्दा बढी मतान्तरले पराजित गरे ।

इम्तियाज आलम, वीरगञ्ज (नेपाली कांग्रेस)

वीरगञ्ज महानगरपालिकामा पनि गठबन्धनका उम्मेदवारले मेयरमा बाजी मार्दा उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनको एक घटक जसपाबाट वीरगञ्ज मेयरका लागि उम्मेदवारी दिएका राजेशमान सिंहले निवर्तमान नगरप्रमुख विजयकुमार सरावगीलाई ठूलो मतान्तरले पराजित गर्दैगर्दा नेपाली कांग्रेसका इम्तियाज आलमले पनि जित हात पारे ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पुरुषोत्तम लाल झालाई करिब २१ हजार बढी मतान्तरले पराजित गरेका आलमले ३० हजार ७८ मत ल्याएका थिए भने लोसपाका झाले ९ हजार ५ सय ६८ मत मात्र ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement