काठमाण्डु – काठमाण्डु–तराई/मधेश द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका २ मध्ये एउटा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको छ ।
कूल १ हजार ६१२ मिटर लम्बाइको निजगढबाट काठमाण्डुतर्फ आउने सुरुङमार्ग बिहीबार छिचोलिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट अवलोकन गरे । उनले तोकिएको समयमै सुरुङमार्ग छिचोलिएकोमा खुशी व्यक्त गरे ।
उनले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिलाई धन्यवाद दिए ।
उनले आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्न समेत निर्देशन दिए । कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल लगायत नेपाली सेनाका रथीवृन्दको उपस्थिति थियो ।
प्रतिक्रिया