सैन्य आधार तालिम समापन, जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन

सैन्य आधार तालिम समापन, जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन


काठमाण्डु – नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार समापन भएको छ ।

तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए ।

नेपाली सेनाका तालिम केन्द्रसहित विभिन्न ३६ स्थानहरूमा सञ्चालित ९ महिना अवधिको सैन्य आधार तालिम सम्पन्न गरी ३ हजार ५५० जना पुरुष तथा ८३४ जना महिला गरी कूल ४ हजार ३८४ जना सैन्यहरू दीक्षित भएका छन् ।

तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रमअन्तर्गत श्री नम्बर १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह, श्री नम्बर २ सैन्य तालिम केन्द्र सैनामैना लगायत विभिन्न पृतना, बाहिनी तथा गण/गुल्महरूमा सम्बन्धित पृतनापति, बाहिनीपति लगायतका ज्येष्ठ अधिकृतहरूले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए ।

त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै सैनिक तालिम महानिर्देशक ध्रुवप्रकाश शाहले एक कर्मठ, इमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य–मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नवनियुक्त भएका सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना दिए ।

विभिन्न स्थानहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।