चुनाव नजिकिदै जाँदा प्रधानसेनापति देशदौडाहामा, सुरक्षाप्रति सेना चनाखो


काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जाँदा सेना पनि सुरक्षाप्रति चनाखो बन्न थालेको छ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनका लागि सेना परिचालनको स्वीकृत दिइसकेको अवस्थामा नेपाली सेनाले पनि सोही अनुरुप रणनीति तय गर्न थालेको छ। 

 

यसैबीच, प्रधानसेनापति राजेन्द्र क्षत्री पनि निर्वाचनको सुरक्षा अवस्था बुझ्न तथा सुरक्षा रणनीतिबारे निर्देशन दिन देशदौडामा लागेका छन्।

 

नेपाली सेना जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले सोमबार मात्रपोखरास्थित पश्चिम पृतना तथा अन्तरगतका युनिट सिद्धिबक्स गण र तनँहु जिल्लास्थित श्री नम्बर ३ बाहिनी अड्डा तथा श्री कृष्णदल गण, लमजुङस्थित श्री श्रीजंग गण र गोरखास्थित श्री रणसिंहदल गणको निरीक्षण भ्रमण गरेका छन्।

 

 

लमजुङमा पहिलो चरणमा मंसिर १० गते तथा तनहुँमा दोस्रो चरण मंसिर २१ गते चुनाव हुँदैछ।

 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए।
निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री सोमबार नै काठमाडौं फिर्ता भएका छन्। निरीक्षण भ्रमणको सिलसिलामा उनी ११ गते पश्चिम पृतना पोखरातर्फ प्रस्थान गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
Advertisement