सेनामा प्रधानसेनापतिले कसैलाई काखा कसैलाई पाखा गरेको गुनासो


काठमाडौं- अनुमान गरिन्छ– सुरक्षा सतर्कताबाहेक देशका प्रधानमन्त्री, रक्षामन्त्रीसहित उच्चपदस्थ अधिकारीका अन्य निजी मामिलाबारे कसैले चियोचर्चो गर्दैन, निजी गतिविधिको सूचना संकलन गरेर बस्ने काम हुंदैन । तर, अहिले आफ्नै संस्थाका जिम्मेवार अधिकारीहरुको समेत निरन्तर निगरानी चलिरहेको छ ।  नेपाली सेनाका एक तारेदेखि तीनतारे जर्नेलसम्म पनि चर्को निगरानीमा परेको भनी रक्षामन्त्रीसामु गुनासो पुगेको छ । जंगी अड्डाले आफ्नै अफिसरका गतिविधिमाथि निगरानी राख्न अलग्गै, गोप्य प्रकारको सर्भिलेन्स टोली खटाएपछि त्यस्तो कुरा उठेको हो । यस्तो काममा सेनाको युद्धभैरव गण, १० नम्बर बाहिनी र जासुसी हेर्ने घोषित निकाय डिएमआईका टोलीहरु खटाइएको चर्चा गण, गुल्मसम्ममा व्यापक बनेको छ । ब्रिटिश अभ्यासअनुसारको स्ट्राटेजिक इन्टेलिजेन्स कलेक्सन (रणनीतिक जासुसी) गर्ने नीति नेपाली सेनाले लिएको छ ।

dish home

तर, आफ्नै अफिसरमाथि सर्भिलेन्स राखेर यस्तो काम थालिएपछि असन्तुष्टि चुलिएको बताइन्छ । रक्षामन्त्रीसामु पुगेको गुनासोमा भेटिएको छ । देशमा गोपनीयताको हकसम्बन्धी कानुन छैन ? सेनाको ड्युटी आवरबाहेक निजी जिन्दगी हुंदैन ? पूर्व सोभियत संघको जस्तो एक व्यक्तिका पछिल्तिर अर्को केजीबीलाई सुराकीमा खटाउन यहां के खांचो आइप¥यो ?

अर्कातिर, दुईजना ब्रिगेडियर जर्नेलबीच दुई साताअघि अश्लिल शब्दसहित झगडा चलेको छ । छाउनीस्थित सैनिक अस्पतालमा कार्यरत डा.देवेन्द्र खत्री र डा.अरुण न्यौपानेबीच झगडा परेको हो । डाक्टरजस्ता मान्छे मुखै छाडेर झगडामा उत्रिएपछि अस्पतालको कमाण्डेण्ट सम्हालेका अरुण निकालिएर अर्कोतिर पठाइएका छन् भने दुबै झगडिया डाक्टरमाथि कोर्ट अफ इन्क्वायरी चलिरहेको छ । छाउनी अस्पतालको कमाण्ड बालाजुस्थित नं. १ बाहिनीपतिले हेरे पनि त्यहाँ प्राविधिक (चिकित्सा) सेवाका जर्नेलमध्येबाट एकजनालाई कमाण्डेण्ट बनाउने प्रचलन छ । त्यहींबाट एक महिनाअघि जर्नेल प्रयोगजंग राणा अनियमितताको अभियोगमा निकालिएका छन् । शान्ति सेना तालिमकेन्द्र पांचखालमा हुंदा यस्तै गरेर एक–डेढ करोडभन्दा बढी कमाएका थिए ।

उता, सर्टिफिकेट र भ्रष्टाचार काण्डमा छानबिनको चर्को होहल्लासंगै सेनाभित्र कागजी टिपोटमा पनि उत्तिकै तदारुकता देखिन्छ । छानबिनमा मान्छेलाई व्यस्त बनाउने, तर अन्तिममा राजीनामा लिएर फासफुस पार्ने, सिपाहीलाई सुविधा नदिने कुराले अर्को असन्तुष्टि जन्माएको छ । अहिले कुनै पनि गणपतिले आफूअन्तर्गतका सैनिकलाई बढुवा दिन सक्दैनन् । चाहेर पनि शान्ति सेना पठाउन सक्दैनन् । यसले एकातिर कमाण्डप्रतिको आज्ञाकारितामा कमी आएको छ भने अफिसर तहमै मनोवल गिरेको विश्लेषण गर्न थालिएको छ । विभेद कस्तो भने, एउटा अफिसरले त्यही शैक्षिक प्रमाणपत्रका आधारमा २५ वर्षसम्म जागिर खायो ।

अहिले आएर ‘नक्कली’ का नाममा घर फर्काइयो । त्यसबीचमा तिनैले लडाइँ लडे, आफू मरेर वा मर्न तयार भएर हाकिमलाई बचाए, संस्था जोगाए । तर, अहिले ‘नक्कली’ का नाममा अपमानको भारी बोकाउँदै, ‘ग्वाँ–ग्वाँ’ रुवाएर घर पठाइने क्रम बढेको छ । एकजना मेजरको टिप्पणी छ, ‘यत्रो वर्ष जागिर खाएको, लडाई लडेको सिपाहीको सर्टिफिकेट नक्कली नै रहेछ भने पनि गोल्डेन ह्याण्डसेक गरेर पठाउनुपर्नेमा बिचल्ली पार्ने गरिएको छ । तिनीहरुलाई होटल, रेष्टुरेण्टमा ढोका ढुकेर जीविका चलाउनुपर्ने स्थितिमा पार्नु हुन्थेन ।’ तर, ‘शक्तिशाली’ का हकमा यस्तो भएन । जस्तो कि, दुई तारे जर्नेलहरु भुवन अधिकारी यसका उदाहरण हुन् । भ्रष्टाचार मामिलामा प्राविधिक जर्नेल ई.योगेन्द्र खाँणको हल्ला भयो–भयो, अन्तिममा केही न केही † प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका मेजर राजेन्द्र शाही गोंगबुको जुवाखालबाट समातिए । ‘अब जागिरै जाने भयो’ भन्ने तहको तदारुकता जंगी अड्डाले देखायो । तर, प्रधानमन्त्रीले बचाइदिनुभयो, ‘विचरो मेजरको ३५ हजार तलबै हुंदैन, कहाँबाट त्यति पैसाको जुवा खेल्छ ?’ भन्दा यसपछि सबै कारवाही सामसुम मिल्यो ।

पश्चिम पृतना हेडक्वार्टर, सुर्खेतका जर्नेल सरोजप्रताप राणाको नागरिकता कीर्ते भएकै हो । तर, उनी परे प्रधानसेनापतिका ज्वाई । उनका लागि कारवाही हैन, शशिभवनमा डिनर खुवाइयो र कपिलवस्तुका सिडियोलाई फोन गरेर चार दिनको काजमा सारा कागज मिलाइयो । कुरा सामसुम भयो । सरोजप्रतापका सासू रायमाझीकी छोरी, प्रधानसेनापतिपत्नी पनि रायमाझीकै छोरी हुनाले जोगिए । अब माघपछि उनै सरोजप्रताप सम्भाररथी हुंदैछन् ।

अहिले सम्भाररथी सम्हालिरहेका अर्का जर्नेल रघु भण्डारीकी पत्नी पनि रायमाझीकी छोरी । प्रधानसेनापतिको नाताले साढु भाइ । उनी पृतनातिर जानुनपर्ने, काठमाडौंतिरै हल्लिएर पुग्ने । छत्रमानको पालामा बहिनीज्वाई दमन घले उपत्यका र डिजिएमओ चलाएर बसेजस्तै सुविधा रघुले पाएका छन् । जर्नेलहरु अशोक सिग्देल र ताराध्वज पाण्डेले त्रिविमा कर्मचारी ट्रेड युनियनका निकटस्थलाई मिलाएर बढुवा खाएका छन् । सुपिङ स्कुलको रेकर्ड भाडमा गएको छ ।

तर, सिपाहीका निम्ति केही भएन । गर्नुपर्ने थियो, लत्ताकपडा, राशन, तलबमा बृद्धि । प्राविधिकहरुले एक सय ५० र एक सय २० प्रतिशतका दरले भत्ता खाएका छन् । लड्न, मर्न तयार भएकाहरुलाई केही छैन । अर्कातिर कमाण्डरहरु १० लिटर पेट्रोल दिनसक्ने हैसियतमा छैनन्, खान्छन् कि भनेर कसिएको छ । माथि कसैलाई काखी च्यापेर र कसैलाई राजीनामा लिएर तर्साउने, तललाई सुधार नगर्ने कारण अस्तव्यस्तता आएको बताइन्छ ।

त्यसैगरी, इण्डोनेशियाबाट आएको सेनाको जहाजमा ठूलै घोटाला काण्ड चलेको छ । यसबारे जंगी अड्डाले सुक्ष्मताका साथ अध्ययन गरिरहेको भनिन्छ । दुई साताअघि प्रधानसेनापति बंगलादेश जाँदा त्यही जहाजमा जानुपर्नेमा अमेरिकाबाट आएको सहयोगको सानो जहाज प्रयोग गरे । इण्डोनेसियाको जहाज उडाउनका लागि भदौ १८ गते नै एउटा टोली तालिम लिन गएको थियो । तालिमेहरु फर्किसके, तर जहाज उडाउन कसैले सकेका छैनन् । त्यही जहाजको अन्तर्राष्ट्रिय मूल्य र यताबाट तिरिएको मूल्य फरक परेपछि छानवीन शुरु भएको हो । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस