सेनाका प्रमुख सेनानी कार्कीमाथी छानविन सुरु


काठमाण्डु – नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्कीमाथी छानविन सुरु भएको छ । मध्यपुर्वी पृतना अन्तर्गतको २७ बाहिनीमा कार्यरत रहंदा कार्कीले आर्थिक हिनामिना गरेको र महिला सैनिकलाई प्रभावमा पारेर दुरुपयोग गरेको आरोपमा उनिमाथी छानविन भएको हो । कार्कीविरुद्ध सेनाको सिकायत तथा जांचबुझ निर्देशनालयमा लिखित उजुरी परेको सैनिक स्रोत बताउंछ ।

सैनिक मुख्यालय र मध्यपूर्वी पृतनामा लिखित उजुरी परेपछि सेनाले महासेनानी भुवन खत्रीको नेतृत्वमा छानविन समिति गठन गरिसकेको छ । समितिमा प्राड विभागका सेनानी शिवराम सापकोटा सदस्य छन् । समतिलिाई दुई दिन भित्र रिपोर्ट पेश गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएको स्रोतको दावी छ ।

२७ बाहिनीपतिबाट पश्चिम पृतना शिक्षालय पोखराको शिक्षाअधिकृतमा सरुवा भएका कार्कीलाई शुक्रवार वयानका लागी मध्यपूर्वी पृतना बोलाइएको छ । उनको बयान आजै सक्ने तयारी छ ।

कार्कीको बयानपछि छानविन समितिले तयार पार्ने रिपोर्टको आधारमा बाहिनीपति पंकज कार्कीमाथी छानविन हुने, नहुने टुंगो लाग्नेछ । प्रमुख सेनानी कार्कीले बाहिनीपति कार्कीलाई खुसी बनाएर मातहतका निकाय र महिला सैनिकको दुरुपयोग गरेको उजुरीमा उल्लेख छ ।

बाहिनीपति कार्कीले पनि उनलाई बाहिनीमा सिनियर अधिकृत हुंदा हुंदै अपरेशनको जिम्मेवारी दिएको खुलासा भएको छ । ४२ बेसिकका प्रमुख सेनानी कार्कीभन्दा सिनियर प्रमुख सेनानी (हाल महासेनानी) रहेका दिनेश रजौरियालाई जिम्मेवारी नदिएर उनले जनमतलाई अपरेशनको जिम्मा दिएका थिए ।

जनमतले त्यसको फाइदा उठाएर मातहतका निकायमा हप्कीदप्की गरेको समेत उजुरीमा उल्लेख छ । उनको व्यवहारबाट  २७ बाहिनीपति अन्तर्गत रहेका भिम दल,श्रीनाथ गण र शेरगणका गणपति समेत दिक्क बनेको सैनिक स्रोत बताउंछ । बाहिनीमै कार्यरत एक महासेनानीले जनमत विरुद्ध मानहानी गरेको उजुरी समेत गरेका छन् ।

यसबारेमा काठमाण्डुपाटीले जनमतसंग कुरा गर्न खोज्दा उनि सम्पर्कमा आउंन चाहेनन् । प्रमुख सेनानी जनमत विवादमा परिरहने सैनिक अधिकृत हुन् ।

यसअघि उनी २७ बाहिनीको भर्ना छनौटमा भएको आर्थिक अनियमिततमा समेत विवादमा मुछिएका थिए । त्यहांका बाहिनीपति बावुराम श्रेष्ठलाई पनि उनले दुरुपयोग गरेको खुलेको थियो । कार्किकै कारण सेनामा राम्रो भविष्य भएका श्रेष्ठलाई छानविन समितिको प्रतिवेदनपछि नसियद दिइएको थियो ।

 

सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले सिकायत तथा जांबुझ निर्देशनालयमा उजुरी परेपछि आन्तरिक रुपमा छानविन हुने भएपनि अहिले नै कार्कीको बारेमा छानविन गर्न कुनै समिति नवनेको दावी गरे ।

‘उजुरी परेको आधारमा दोषी भन्न मिल्दैन्, पहिला आन्तरिक रुपमा छानविन हुन्छ,त्यसपछि विषयको गम्भिरतालाई हेरेर समिति गठन गर्ने भन्ने हुन्छ । अहिले नै त्यो बारेमा केही भएको हैन् ।’ सैनिक प्रवक्ता पौड्यालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement