सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित १ पक्राउ

सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित १ पक्राउ


काठमाण्डु – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ ।

प्रहरीले स्थानीय राजु स्याङतानलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्याङ्तानको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा सिरानीमुनि लुकाइएको अवस्थामा एमएम युनिभर्सल मेड इन इटाली लेखिएको म्यागजिन सहितको पेस्तोल १ थान, थप १ थान खाली म्यागजिन र १३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गोठको दोस्रो तल्लामा मकैको खोस्टा र पत्करभित्र प्लास्टिकको झोलामा लुकाइ राखिएको अर्को कटुवा पेस्तोल १ थान र एमएम लेखिएको १२ राउण्ड गोली समेत फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषधतर्फ स्याङ्तानको घरबाट अफिमजस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम बरामद गरिएको छ । यससँगै लागूऔषध र हातहतियार खरखजना सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको छ ।

स्याङ्तान आपराधिक गतिविधिमा संलग्न पुनरावृत्तिपूर्ण पात्र रहेको खुलेको छ । २०७१ सालमा लागूऔषध मुद्दामा पक्राउ परी २ वर्ष कैद भुक्तान गरेका थिए ।

२०७६ साउन ४ गते, लागूऔषध र हातहतियार मुद्दामा पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय पाएका स्याङ्तान २०८१ सालको माघमा छुटेका थिए ।
हाल पुनः लागूऔषध र अवैध हातहतियारसहित पक्राउ परेका स्याङ्तानमाथि आवश्यक अनुसन्धान तथा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।