काठमाण्डु – पछिल्लो समय देशैभर लागूऔषधको बिगबिगी बढ्दै गएको छ ।
प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १९ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा करीब ५ किलो ६२५ ग्रामसहित थाइल्याण्डका नागरिक २८ वर्षीय कोपा चन्स शुक्रबार दिउँसो पक्राउ परेका छन् । एयर ईण्डियाको उडानद्वारा दिल्लीबाट काठमाण्डु आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट लागूऔषध फेला पारी पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित सेन्टर पार्क होटलबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८४ ट्याब्लेट, ट्रामाडोल १० ट्याब्लेट, नुर्फिन ३ एम्पुल, फेनारगन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र मोबाइल ४ थान सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–७ बस्ने २० वर्षीय शुकलाल स्याङतान, १८ वर्षीय किशोर र पर्सा वीरगंज महानगरपालिका–२ बस्ने २४ वर्षीय सुरेश पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले होटलको कोठा नम्बर १०४ तलासी गर्दा लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानबाट अवैध लागूऔषधसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाण्डुतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ७६३४ नम्बरको मोटरसाइकल चालक धनुषा शहिदनगर नगरपालिका–८ बस्ने २२ वर्षीय रजनिश यादवलाई नियन्त्रित लागूऔषध नाईट्राजेपाम २८ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट र काँकरभिट्टाबाट काठमाण्डुतर्फ जाँदै गरेको बा५ख ६०२३ नम्बरको हायसमा सवार मोरङको मिक्लाजुङ गाउँपालिका–१ बस्ने ३१ वर्षीय बद्री पुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८७० मिलिग्रामसहित फेला पारी पक्राउ गरेको छ ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल र प्रोमेथाजाइन ६० एम्पुल सहित पर्वत घर भएका ३५ वर्षीय रेशम कुवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बेलहियाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ०४१७ नम्बरको बसमा सवार उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८०० ट्याब्लेट, एनारगन ८०० ट्याब्लेट र नगद १० हजार ५०० रूपैयाँसहित ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने गौरादह नगरपालिका–४ घर भएका २४ वर्षीय अनुभव दर्नाल, दमक नगरपालिका–१ घर भएका २६ वर्षीय सुरज कुमाल, सोही नगरपालिका–६ घर भएका २९ वर्षीय सुमन दर्जी र सोही नगरपालिका–७ घर भएका ३४ वर्षीय वीरबहादुर पौडेल रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७३ ग्राम २६० मिलिग्रामसहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका–६ बस्ने ५० वर्षीय दिपक विसी र दार्चुलाको महाकाली नगरपालिका–३ बस्ने ४२ वर्षीय नरसिंह महरा रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले उक्त होटल तलासी गर्दा लागूपदार्थ फेला पारी उनीहरूलाई पक्रउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ शहिद गेटबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ५२० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय जीवन चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१० घुईयाँघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १५० मिलिग्रामसहित स्थानीय २२ वर्षीय सरोज रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थ सहित पक्राउ गरेको छ ।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ७५० मिलिग्रामसहित टीकापुर नगरपालिका–१ पशु हाटबजार बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–२ विकासनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ७० मिलिग्रामसहित स्थानीय २३ वर्षीय डिल बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मनकामना चोक बस्ने ३६ वर्षीय बरूण लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैयाँसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको घरतलासी गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया