पालिकाका पूर्वअध्यक्ष साहसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी

पालिकाका पूर्वअध्यक्ष साहसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी


रौतहट – रौतहटको दुर्गा भगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुणकुमार साहसहित ४ जनालाई पक्राउ पुर्जी जारी भएको छ ।

जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोपमा पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पक्राउ पुर्जी अनुमति दिएको हो ।

गाउँपालिकाका पूर्वअध्यक्ष साह, नापी कार्यालय डिल्लीबजार काठमाण्डुका नापी अधिकृत सञ्जय साह, काठमाण्डुको नागार्जुन–४ बस्ने विमलादेवी श्रेष्ठ र उनका छोरा धिरज श्रेष्ठलाई अदालतले ज्येष्ठ १३ गते इलाका प्रहरी कार्यालय गरुडालाई पक्राउ पुर्जी अनुमति दिएको छ ।

‘पूर्वपालिका अध्यक्ष साह सहितलाई पक्राउ गरेर अनुसन्धान गर्न अदालतले पक्राउ पूर्जी जारी गरेको छ, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले भने, ‘मुख्य अभियुक्तसँगै पूर्वअध्यक्ष साहलाई पनि प्रहरीले पक्राउको तयारी गरेको छ ।’

जग्गाको आर्थिक लेनदेनमा रकम ठगी गरेको आरोप पूर्वअध्यक्ष साहलाई लागेको उनले जानकारी दिए ।

सर्लाहीको हरिपुर वडा नम्बर ७ मा रहेको जग्गा खरिद गरेबापत गरुडा ६ पोठियाहीका सन्तोष कुमार चौधरीले विभिन्न चरणमा १ करोड ४३ लाख रकम नगद र चेकमार्फत रकम दिए पनि जग्गा पास नगराएर आलटाल गर्दै आएको भन्दै उनीहरू विरुद्धमा ठगी मुद्दा दायर गरेका थिए ।

हरिपुरको किता नम्बर ७७३ को ११ कटठा १४ धुर जमिन खरिद गर्दा नापी अधिकृत साहको नाममा रजिस्ट्रेसन पास गरे पनि उनले ०८०/०८१ मा चौधरीलाई थाहा नदिकन जमिन ४ कित्ता बनाई ४ जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको छ ।

जग्गा खरिद–बिक्रीमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भइसकेकाले खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।