असई थमन विक हत्या प्रकरण : अदालतमा हाजिर भए प्रदेश २ का राज्यमन्त्री


जनकपुर – सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । शर्मा सोमबार दिउँसो जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् ।

मधेस आन्दोलनको क्रममा २५ भदौ ०७२ मा महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा सशस्त्र प्रहरीका असई थमन घाइते भएका थिए ।  उपचारका लागि जनकपुरमा ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर उनको हत्या भएको थियो ।

उच्च अदालत जनकपुरले राज्यमन्त्री शर्मालाई तत्काल पक्राउ गर्न गत विहिबार परमादेश जारी गरेको थियो । उच्च अदालत जनकपुरका न्यायाधीश द्वय माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयु्क्त इजलासले राज्यमन्त्री शर्मासहित प्रदेशसभा सदस्य कौशलकुमार यादव, महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र लगायतका प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको हो ।

महोत्तरीको जलेश्वरमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका प्रतिवादीलाई पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत महोत्तरीबाट आदेश भएपनि जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा कार्यालय प्रमुखले प्रतिवादीलाई पक्राउ नगरेका कारण अबिलम्ब पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

महोत्तरी जिल्ला अदालतको आदेशबाट केही प्रतिवादी जलेश्वर कारागारमा थुनामा रहेको भए पनि बाँकी प्रतिवादीलाई प्रहरीले पक्राउ नगरेको भन्दै असई विककी श्रीमती शोभा गहतराजले २८ चैत २०७२ मा अदालतमा मुद्दा हालेकी थिइन् ।

घटनामा राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रिय नेताहरू सुरेश पाण्डे, देवेन्द्र यादव, संघीय समाजवादी फोरम नेपालका नेता लक्ष्मी महतो लगायतका प्रतिवादी छन् ।

असई हत्याकाण्ड, फरार राज्यमन्त्रीलाई तत्काल पक्राउ गर्न उच्च अदालतको परमादेश

प्रतिक्रिया दिनुहोस
Advertisement