नक्कली एटीएम कार्ड प्रयोग गरी २० लाख झिक्ने सीआईबीको फन्दामा


काठमाडौँ— नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबीले नक्कली कार्डको प्रयोग गरी अवैध रुपमा एटीएमबाट पैसा झिकेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सीआईबीले फ्रड प्लाष्टिक म्यागनेटिक कार्डको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको विभिन्न एटीएम शाखाबाट २० लाखभन्दा बढी रकम निकाल्ने बाराका राजुकुमार पाण्डेलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले विभिन्न कार्डको प्रयोग गरेर गैरकानुनी रुपमा रकम निकालेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए। पाण्डेले विदेशी नागरिकसँग मिलेर उक्त पेशा गर्दै आएको र विदेशी नागरिक अहिले नेपाल बाहिर रहेको अनुसन्धानमा खुलेको उनले जनाए।

पक्राउ पाण्डेसँग प्रहरीले सादा कार्ड दुई थान, मोबाइल एक थान, मोटरसाइकल एक थान, ल्यापटप एक थान र रकम बरामद गरेको छ । पाण्डेलाई उच्च अदालत पाटनबाट सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement