भारतसँग हवाई रुटमा सहमति : अब पश्चिमबाटै जहाज नेपाल पस्न पाउने, भैरहवा विमानस्थललाई के फाइदा ?

भारतसँग हवाई रुटमा सहमति : अब पश्चिमबाटै जहाज नेपाल पस्न पाउने, भैरहवा विमानस्थललाई के फाइदा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल र भारतबीच काठमाडौं-भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयनमा नयाँ सम्भावना खोलेको छ।

लामो समयदेखि एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदै आएको बी३४५ हवाई मार्ग अब भारतबाट नेपाल प्रवेश गर्ने विमानले पनि प्रयोग गर्न पाउने गरी दुईतर्फी बनाउने सहमति भएको हो। तर यो सहमति कार्यान्वयनमा लैजाने मोडालिटीबारे दुई देशबीच अझै छलफल बाँकी छ।

प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा हाल एकतर्फी रहेको बी३४५ काठमाडौं-भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै देश सहमत भएको उल्लेख छ।

यसका लागि प्राविधिक परामर्श गरी सञ्चालनको मोडालिटी टुंग्याउने सहमति दुवै देशले गरेका छन्। यदि कार्यान्वयन भएमा यो सहमति नेपालको हवाई उड्डयनका लागि महत्त्वपूर्ण हुनेछ।

एउटै प्रवेश बिन्दुमा निर्भर नेपाल

नेपाल भूपरिवेष्टित मुलुक भएकाले अन्तर्राष्ट्रिय विमानको आवागमनका लागि छिमेकी मुलुकको हवाई क्षेत्र प्रयोग गर्नुपर्ने अवस्था छ। भारत हुँदै आउने अधिकांश अन्तर्राष्ट्रिय विमानले अहिले नेपालको सिमरा प्रवेश बिन्दु प्रयोग गर्छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानमध्ये करिब ८८ प्रतिशत सिमरा हवाई मार्गबाट काठमाण्डुसम्म आइपुग्छन्। यसले नेपालको अन्तर्राष्ट्रिय हवाई आवागमनलाई एउटा प्रमुख प्रवेश बिन्दुमा निर्भर बनाएको छ।

अर्कोतर्फ, नेपालबाट बाहिरिने विमानका लागि भैरहवा, महेन्द्रनगर, सिमरा, जनकपुर, विराटनगर, काकडभिट्टा र तुम्लिङटारलगायत विभिन्न बिन्दु उपलब्ध छन्। तर नेपाल भित्रिने विमानका लागि विकल्प सीमित छ।

यसको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै होइन, भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा समेत परेको छ। सिमरा क्षेत्रमा हवाई चाप बढ्दा विमानलाई आकाशमै केही समय घुमाएर राख्नुपर्ने अवस्था आउन सक्छ।

थप प्रवेश मार्ग उपलब्ध हुँदा हवाई ट्राफिक व्यवस्थापनमा विकल्प बढ्छ र एउटै क्षेत्रमा केन्द्रित चाप कम गर्न सहयोग पुग्छ। अर्कातिर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले समेत छोटो हवाई मार्ग खोजेको छ।

पश्चिमबाट आउने विमानले ३०० किलोमिटर घुम्नुपर्छ

बी३४५ मार्गको दुईतर्फी सञ्चालनले सबैभन्दा प्रत्यक्ष प्रभाव पश्चिमबाट नेपाल आउने विमानमा पार्न सक्छ। अहिले पश्चिमतर्फबाट भैरहवा आउन चाहने विमानले सिधै भैरहवाबाट नेपाल प्रवेश गर्न पाउँदैनन्। भारतको हवाई क्षेत्र हुँदै आउने त्यस्ता विमानले पूर्वतर्फ सिमरा पुगेर नेपाल प्रवेश गर्नुपर्ने र त्यसपछि फेरि पश्चिम फर्किएर भैरहवा पुग्नुपर्ने अवस्था छ।

यसरी घुमेर आउँदा भैरहवा जाने विमानले करिब ३०० किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्ने बाध्यता जहाजलाई हुन्छ। पोखरा जाने विमानले पनि पश्चिमबाट आउँदा करिब १८५ किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्ने बाध्यता छ।

रुपन्देहीस्थित गौतम बुद्ध विमानस्थलमा जाने विमानले करिब १९० नटिकल माइल अर्थात् ३०० किलोमिटर अतिरिक्त दूरी पार गर्नुपर्ने बाध्यता छ। यस बाध्यताका कारण ठूला विमानको उडान समय २० मिनेटभन्दा बढी बढाइरहेको छ।

बी३४५ दुईतर्फी भएपछि लखनउ हुँदै भैरहवा भएर नेपाल प्रवेश गर्ने बाटो उपलब्ध हुन्छ। यसले पश्चिमबाट आउने र भैरहवा वा त्यस आसपासका गन्तव्यमा जाने विमानलाई सिमरासम्म पुगेर फेरि पश्चिम फर्किनुपर्ने बाध्यता घटाउन सक्छ।

इन्धन र सञ्चालन खर्च घट्ने सम्भावना

विमानले जति लामो दूरी पार गर्छ, त्यति नै बढी इन्धन खर्च हुन्छ। उडान समय बढ्दा चालक दलको कार्यसमय, विमानको सञ्चालन तालिका र एयरलाइन्सको समग्र खर्चमा पनि असर पर्छ।

अतिरिक्त दूरी घटेमा एयरलाइन्सको इन्धन खर्च र सञ्चालन लागत कम हुन सक्छ। त्यसले भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यावसायिक सम्भावना बढाउन सक्छ।

उडानको दूरी र लागत घट्दा यात्रुले तिर्नुपर्ने हवाई भाडामा समेत सकारात्मक प्रभाव पर्न सक्ने सम्भावना रहन्छ। तर टिकटको मूल्य इन्धन खर्च मात्रैका आधारमा निर्धारण हुँदैन। यात्रुको माग, एयरलाइन्सबीचको प्रतिस्पर्धा, विमानस्थल शुल्क र अन्य सञ्चालन खर्चले पनि मूल्य निर्धारण गर्छन्। त्यसैले रुट खुलेपछि टिकट तत्कालै सस्तो हुन्छ भन्ने ग्यारेन्टी भने हुँदैन।

भैरहवा र पोखराको उपयोग बढाउने अवसर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि यसले अपेक्षित नियमित अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न सकेको छैन। पश्चिमबाट आउने विमानले लामो दूरी घुम्नुपर्ने बाध्यता यसको व्यावसायिक सञ्चालनमा देखिएका समस्यामध्ये एउटा हो।

बी३४५ दुईतर्फी सञ्चालनमा आएपछि भारतका लखनउलगायत पश्चिमी क्षेत्रबाट भैरहवा आउने उडानलाई सहज बनाउन सक्छ। यसले भारतका सहरसँग भैरहवाको हवाई सम्पर्क विस्तार गर्न र अन्तर्राष्ट्रिय एयरलाइन्सलाई भैरहवाबाट उडान सञ्चालन गर्न प्रोत्साहित गर्न सक्छ।

यसको प्रभाव भैरहवा विमानस्थलमा मात्रै सीमित नहुन सक्छ। पश्चिमबाट आउने विमानलाई नेपालको हवाई क्षेत्रमा प्रवेश गर्न सहज हुँदा पोखरासम्मको उडानमा पनि केही लाभ पुग्न सक्ने सम्भावना छ। तर पोखराका लागि छुट्टै उडान मार्ग, अवतरण प्रक्रिया र प्राविधिक व्यवस्थाको आवश्यकता भने कायमै रहन्छ।

भैरहवा र पोखरा विमानस्थल निर्माणमा ठूलो लगानी भएको छ। यी विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानसँग जोड्न सके पर्यटन, होटल, यातायात, रोजगारी र स्थानीय व्यवसायमा समेत आर्थिक गतिविधि बढ्न सक्छ।

रुट खुल्दैमा विमानस्थल चलायमान हुँदैन

१२ वर्षदेखि अल्झिएको हवाई मार्गको समस्या समाधान हुनु महत्त्वपूर्ण परिघटना भएको छ। तर पनि भैरहवा र पोखरा विमानस्थलको व्यावसायिक सफलता त्यसैमा मात्र निर्भर छैन।

एयरलाइन्सले कुनै विमानस्थलबाट उडान सञ्चालन गर्ने निर्णय गर्दा यात्रुको माग, सम्भावित आम्दानी, विमानस्थलको सेवा सुविधा, भिसा तथा अध्यागमन प्रक्रिया, सुरक्षा, ग्राउन्ड ह्यान्डलिङ र अन्य सञ्चालन लागत पनि हेर्छन्।

नयाँ विमानस्थलले नियमित अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न नसक्नुमा हवाई मार्गबाहेक विमानस्थलको प्रवर्द्धन र एयरलाइन्सलाई आकर्षित गर्ने सरकारी प्रयासको कमीमा पनि हो ।

त्यसैले बी३४५ दुईतर्फी बनाउने सहमति विमानस्थलको व्यावसायिक सञ्चालनका लागि एउटा महत्त्वपूर्ण अवरोध हटाउने कदम हो, तर यो आफैँमा पूर्ण समाधान होइन।

सहमति कार्यान्वयन अझै बाँकी

संयुक्त विज्ञप्तिमा दुई देशबीच बी३४५ मार्गलाई दुईतर्फी बनाउने सहमति उल्लेख भए पनि प्राविधिक मोडालिटीलाई अन्तिम रूप दिन परामर्श गर्ने भनिएको छ। त्यसैले कुन उचाइमा, कुन प्रकारका विमानले र कुन प्रक्रियाबाट यो मार्ग प्रयोग गर्न पाउने भन्ने विषय प्राविधिक तहमा टुंगिन बाँकी छ।

यसको अर्थ अहिले नै सबै अन्तर्राष्ट्रिय विमानले लखनउ हुँदै भैरहवाबाट नेपाल प्रवेश गर्न पाउने अवस्था बनिसकेको होइन। सहमतिलाई प्राविधिक र सञ्चालनगत व्यवस्थामा रूपान्तरण गरेपछि मात्रै यसको वास्तविक लाभ देखिन थाल्नेछ।

नेपालले सन् २००९ देखि थप अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्गका लागि भारतसँग छलफल गर्दै आएको छ। यसअघि पनि विभिन्न उच्चस्तरीय भ्रमणमा हवाई मार्गको विषय उठे पनि कार्यान्वयनमा आउन सकेको थिएन।

यसपटकको सहमति कार्यान्वयन भएमा नेपालको अन्तर्राष्ट्रिय हवाई आवागमनमा प्रवेश मार्गको विकल्प बढ्नेछ। विशेषगरी पश्चिमबाट आउने विमानको दूरी र सञ्चालन लागत घटाउने, भैरहवा विमानस्थलको उपयोग बढाउने र सिमरा प्रवेश बिन्दुमाथिको निर्भरता केही कम गर्ने दिशामा यो महत्त्वपूर्ण कदम बन्न सक्छ।