नेपालको चुच्चे नक्सालाई मान्यता नदिएपछि मेयर बालेनले चीन भ्रमण रद्द गरे


काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्ध गरेका छन् । बिहिबार सामाजिक सञ्जालबाट उनले आफ्नो पाँच दिने चीन भ्रमण रद्ध गरेको जानकारी दिएका हुन् ।

चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि मेयर बालेनले नैतिकताका आधारमा आफूले चीन भ्रमण रद्ध गरेको बताए ।

‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’, उनले फेसबुकमा लेखेका छन् ।

नेपालले २०७७ मा भारतले कब्जा गरेको आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा जारी गरेको थियो। उक्त नक्सा जारी गरेपछि भारतले असन्तुष्टि जनाएको थियो। भारतले उक्त नक्सा स्वीकार गरेको छैन। नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेट्दै नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेको भए पनि अन्तर्राष्ट्रिय समुदायले भने नेपालको पुरानै नक्सालाई मान्यता दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement