काठमाडौं प्रशासनले बालेनलाई भन्यो- सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्नू


काठमाण्डु- जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति मार्फत काठमाण्डु महानगरपालिकाका मेयर बालेनलाई इंगित गर्दै राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेका हुन् ।

शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै आक्रोशित भएका बालेनले सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’, शनिबार बेलुका मेयर शाहले लेखेका थिए ।उनले उक्त स्टाटस भने अहिले फेसबुकबाट हटाइसकेका छन् ।

यसैबीच सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न भनेको छ ।

‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’,जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement