मोदी र मुर्मूलाई बालेनले दिदैँछन् २ ऐतिहासिक उपहार, के छन् विशेषता ?

मोदी र मुर्मूलाई बालेनले दिदैँछन् २ ऐतिहासिक उपहार, के छन् विशेषता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले भारतको राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई नेपालका दुई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदासँग सम्बन्धित मूर्ति उपहार दिने भएका छन् ।

यसअघिका नेपाली प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने गरेकोमा प्रधानमन्त्री शाहले यसपटक फरक र ऐतिहासिक महत्त्व बोकेका उपहार रोजेका हुन् ।

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा नयाँदिल्ली जाँदैछन् । भ्रमणका क्रममा सोमबार उनले भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई रातो मच्छिन्द्रनाथको मूर्ति उपहार दिन लागेका हुन् । रातो मच्छिन्द्रनाथ नेपालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएका महत्त्वपूर्ण देवता हुन् ।

नेपालको परम्परागत किंवदन्तीअनुसार लिच्छवि राजा नरेन्द्रदेवले भारतको तत्कालीन कामरूप (हालको असम) स्थित कामाख्या क्षेत्रबाट रातो मच्छिन्द्रनाथलाई काठमाण्डु उपत्यकामा ल्याएका थिए । त्यसबेला उपत्यकामा लामो समयसम्म वर्षा नभएर अनिकाल परेको र मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि वर्षा सुरु भएको धार्मिक विश्वास छ ।

त्यस्तै, भारतीय राष्ट्रपति मुर्मूलाई प्रधानमन्त्री शाहले काठमाण्डुको चाबहिलस्थित चारुमती विहारसँग सम्बन्धित मूर्ति उपहार दिने तयारी गरेका छन् ।

चारुमती विहारको इतिहास भारतका मौर्य सम्राट अशोक र उनकी छोरी चारुमतीसँग जोडिएको छ । परम्परागत कथनअनुसार सम्राट अशोक छोरी चारुमतीसहित काठमाण्डु उपत्यका आएका थिए ।

चारुमतीले स्थानीय क्षेत्रीय राजकुमार देवपालसँग विवाह गरी देवपाटन क्षेत्रमा बसोबास गरेको र त्यहीँ विहार निर्माण गराएको जनविश्वास छ । उनको मृत्यु पनि यही क्षेत्रमा भएको बताइन्छ ।

यी दुई उपहारले नेपाल र भारतबीचको प्राचीन धार्मिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई प्रतिबिम्बित गर्नेछन् ।