काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आज गरेका प्रमुख काम तथा प्रगतिको विवरण सार्वजनिक गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आजका २० बुँदे प्रगतिको विवरण सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री शाहले यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन्। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने उनले बताएका छन्।
उनले रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गरेका छन् ।
आज भएका प्रमुख काम तथा प्रगति :
१. खोज तथा उद्धारमा १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालित छन्।
२. हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। जसमा जलविद्युत् सुरुङबाट उद्धार गरिएका १९१ जना र आजको हवाई उद्धारबाट उद्धार गरिएका ५१७ जना समेत छन्। नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर आवतजावत उडान सञ्चालन भइरहेको छ। हालसम्म ९९ हवाई उडान भएका छन्।
३. उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरबाट ६ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटहरू समेत पठाइएको छ।
४. सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। माथिल्लो त्रिशूली जलविद्युत् आयोजना, रसुवागढी जलविद्युत् केन्द्रमा फसेका र अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी छ। आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको छ।
५. खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी कार्य जारी छ।
६. विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानमा विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको छ। परराष्ट्र मन्त्रालयले दूतावास तथा परिवारसँग समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरेको छ।
७. विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ। उद्धारमा हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको छ।
८. भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिमका क्षेत्रमा पूर्वसूचना र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। २ लाखभन्दा बढी सन्देशमार्फत पूर्वसूचना दिइएको छ।
९. राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको छ। गृहमन्त्री स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक निर्देशन दिइरहनुभएको छ।
१०. सडक सम्पर्क पुनःस्थापनाको काम तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन सुरु भएको छ। काठमाण्डु–मुग्लिङको बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
११. रसुवालाई पुनःसडक सञ्जालसँग जोडिएको छ। काठमाण्डु–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सुचारु भएको छ। क्षतिग्रस्त पुलमा बाइपास खोल्ने काम सुरु गरिएको छ। नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेली पुल उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।
१२. खानेपानी, इन्धन तथा सरसफाइको तत्काल व्यवस्था गरिएको छ। नुवाकोटमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका ४ वटा पानी ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ। नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा डिजेल ४१ हजार लिटर र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको छ। १७ हजार लिटर हवाई इन्धन नुवाकोटमा पठाइएको छ।
१३. प्रभावित क्षेत्रको क्षतिको विस्तृत मूल्यांकन सुरु गरिएको छ। सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि विषयगत समूह तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएका छन्।
१४. स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट चिकित्सकीय टोली परिचालन गरिएको छ। आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाइनुका साथै कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी पाल तथा आपत्कालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ। रोगको निगरानी तथा मातृ–बाल स्वास्थ्यसहित अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर राखिएको छ।
१५. दूरसञ्चार सेवा पुनःस्थापनामा प्रगति भएको छ। प्रभावित १९८ टावर तथा साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएका छन्। बाँकी साइटमा आवश्यक प्राविधिक तथा ऊर्जा स्रोत परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको छ।
१६. विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ। नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको छ।
१७. जोखिममा रहेका परिवारका लागि सुरक्षित बसोबास तथा आवतजावतको व्यवस्था अघि बढाइएको छ। आपत्कालीन आश्रयस्थलका लागि स्थल पहिचान तथा स्थानान्तरणको काम भइरहेको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा तथा नुवाकोटका करिब १० स्थानमा तुइन निर्माण गर्ने काम अघि बढाइएको छ।
१८. राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक स्रोत परिचालन भइरहेको छ। बाढी तथा विपद्बाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ रकम उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ।
मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित व्यवसाय पुनःप्राप्ति प्याकेज तयार गर्ने काम अघि बढाइएको छ। साथै, प्रधानमन्त्रीज्यूलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।
१९. राहत, उद्धार तथा पुनःस्थापनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग एकीकृत रूपमा परिचालन गरिएको छ। सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन भइरहेको छ।
२०. अन्त्यमा, नेपाली मिश्रित मार्सल आर्ट्स खेलाडी रवीन्द्र ढाँटले ‘रोड टु यूएफसी’मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद। उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो।
सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ।




प्रतिक्रिया