बैङ्किङ कसुरमा २ हजार ५ सय ६६ जनाविरुद्द मुद्दा दायर


काठमाडौँ – काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।

जसमा काठमाडौँमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैङ्किङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ । उपत्यकामा आव २०७४-०७५ मा ४८७ र आव २०७३-०७४ मा १० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो ।

यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैङ्किङ कसुरमा मुद्दा चल्दै आएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउंछन् । “पहिला सहमतिमा कारोबार गर्यो , पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ,”।

खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैङ्किङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हक अन्तर्गत बैङ्किङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैङ्किङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो ।

मुलुकभर आर्थिक वर्ष २०७५-०७६ मा दुई हजार ६२० जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै आव २०७४-०७५ मा ७७६ र आव २०७३-०७४ मा ९३ जनाविरुद्द बैङ्किङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement