‘बिषु’ पर्व उल्लासका साथ मनाइदै


धनगढी – प्रदेश नम्बर ७ सुदूरपश्चिम क्षेत्रका जिल्लामा नयाँ वर्षका आरम्भका रुपमा मनाइने ‘बिषु’ पर्व उल्लासमय वातावरणमा आज मनाइदै छ । बिषु पर्व मनाउने तयारीस्वरुप आज बेलुका निसौसे, रोट, माणालगायतका स्थानीय खानाका मीठा परिकार पकाउन प्रत्येक घरका गृहिणीको व्यस्तता बढेको छ ।

यस्तै विवाहित छोरी बहिनीमा आआफ्नो माइती घर जाने चटारो देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेकाहरु बिषु मनाउन घर फर्किरहेका छन् । नयाँ वर्षको दिन बिहान हरेक घरमा स्थानीय खानाको मिठो परिकार‘गतानी डुब्का’ पकाइ खाने चलन छ । यो पर्वका दिन देवर –भाउजू, साला–साली, नन्द–भाउजू, देउरानी–जेठानी, साली– भिनाजुका बीच एकापसमा सिस्नो पानी छ्यापेर रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रुपमा लिइन्छ । सिस्नु पाइने पहाडी क्षेत्रका जिल्लामा सिस्नु पानी छ्यापेर रमाइलो गरिन्छ ।

यसरी सिस्नो पानी छ्याप्दा वर्षभरि शरीरमा रहेको छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । यस्तै हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दही चामल’एकापसमा बाँडेर खाने चलन छ । यो पर्वको तयारीको क्रममा पहाडी जिल्लाका बासिन्दाले आआफ्नो घरलाई रातो माटो र कमेरो माटोले लिपपोत गर्ने गर्दछन् । ‘घर छिप्ने’ नाम दिने गरिएको यो काममा काम विशेष गरी महिला सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिप्ने काम गरिएमा वर्षभरि नै सुुख शान्ति समृद्धि छाउँछ भन्ने जनविश्वास छ ।

पौराणिककालमा हिन्दू सम्राट, पराक्रमी राजा विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियालीस्वरुप यो पर्व मनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement