मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा

मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा

चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप प्रभावकारी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।

लामो समयदेखि अवरुद्ध रहेको प्रसारण लाइनबाट शनिबार दिउँसोदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवलहुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक (न्यू मर्स्याङ्दी सबस्टेसन)देखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने क्रममा मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माण हुन नसक्दा लामो समयदेखि लाइन सञ्चालनमा आउन सकेको थिएन।

गत असार ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले स्थलगत निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजनाका जिम्मेवार अधिकारीबीच समन्वय गरी निर्माणमा देखिएको अवरोध हटाउन पहल गरेका थिए। प्रसारण लाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्यामा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ। साथै, विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै विद्युत् आपूर्तिको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो। आयोजना सञ्चालनमा आएपछि मर्स्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह भई देशको विद्युत् प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।