काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्।
सोमवार नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै विचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन्। उनले गगन थापा र आफूले पार्टीको नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपप्रति प्रश्न उठाउँदै पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूबीचको राजनीतिक तथा आर्थिक हैसियत तुलना गर्न आग्रह गरे।
कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई अदालत वा कानूनले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्दै उनले सामाजिक सञ्जालमा हुने प्रचारको पछि नलाग्न आग्रह गरे। शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५ औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार सम्पन्न भएको दाबी गरे।
महाधिवेशन प्रतिनिधिहरूको निर्णय कार्यान्वयन भएको भन्दै पार्टीभित्रका निर्णयलाई लिएर अनावश्यक भ्रम सिर्जना नगर्न उहाँको आग्रह छ। उनले बदलिएको राष्ट्रिय परिस्थिति र आवश्यकताअनुसार कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने बताए। पार्टीलाई चुस्त, व्यवस्थित र योजनाबद्ध रूपमा सञ्चालन गर्दै देशको विकास र समृद्धिका लागि काम गर्ने उनको भनाइ छ।
काभ्रे कांग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुन आग्रह गर्दै शर्माले पार्टीको जग बलियो बनाउन कार्यकर्ताहरू गाउँ तथा समुदायसम्म पुग्नुपर्ने बताए। कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्रै समाजमा नयाँ विश्वास स्थापित गर्न सकिने उनले उल्लेख गरे।


प्रतिक्रिया