मन्त्रिपरिषद् बैठकका यी ७ निर्णय, शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्त

मन्त्रिपरिषद् बैठकका यी ७ निर्णय, शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले बिहीबार गरेका ७ निर्णय सार्वजनिक भएका छन् ।

बैठकले प्रधानमन्त्री बालेन नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६–१० गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता जनाउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकले भारतको नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा काठमाण्डु, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साल तथा सदस्यमा मकवानपुरका रामशरण सापकोटा र  महिला सदस्यमा काठमाण्डुकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१) संयुक्त राष्ट्रसंघको ८१औं महासभामा २०८३ असोज ६ देखि १० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।

२) भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने ।

३) अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

४) काठमाण्डु, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहहरूका १७ हजार ४३८ गरिब घर परिवारको सूची स्वीकृत गर्ने ।

५) शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल (भक्तपुर) र सदस्यमा श्री रामशरण सापकोटा (मकवानपुर) एवं महिला सदस्यमा श्री विष्णु घिमिरे रिमाल (काठमाडौँ) लाई नियुक्ति गर्ने ।

६) सहसचिव श्री विनोदबहादुर कुँवरलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।

७) सहसचिव श्री उत्तरकुमार खत्रीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने ।