घुस खाने दोलखाका सिडिओ गृह मन्त्रालय तानिए


काठमाडौं – सेवाग्राहीसँग घुस लिएको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । गृहले रिजाललाई मन्त्रालय तानेको हो ।

सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले तानेको हो ।

‘उहाँलाई दोलखाको प्रजिअको भूमिकाबाट आजैदेखि हटाइएको छ । थप विभागीय कारवाहीका लागि प्रमाण जुटाउँदैछौँ । अहिलेलाई गृहमै तानिसकेका छौँ,’ गृहप्रवक्ता तथा सहसचिव केदार शर्माले भने ।

रिजालले मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार ३५ हजार रुपैयाँ लिएको पीडितको आरोप लागेको छ ।

प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको जिकिर छन् । उनले बढी पैसा लिएर फिर्ता गरेको भन्ने समाचार नियोजित रहेको दावी गरेका थिए ।

रिजालले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement