चिनियां कम्पनीहरूमाथि वाशिङटनको प्रतिबन्ध


काठमाडौं – चीन सरकारले आफ्नो देशका फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीहरूमाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई आग्रह गरेको छ । उत्तर कोरियासंग व्यापार गर्ने भनिएका चिनियां फर्म र पानीजहाजबाट सामान ओसारपसार गर्ने कम्पनीहरूमाथि वाशिङटनले प्रतिबन्ध लगाएको हो । तर त्यस्ता कम्पनीहरूमाथि अनुसन्धान गर्ने र तिनीहरूलाई दण्डित गर्ने जिम्मेवारी आफ्नो भएको बेइजिङले बताउने गरेको छ । शुक्रवार अमेरिकाले घोषणा गरेका नयां प्रतिबन्धहरू चीन, सिंगापुर र पनामासहित कैयौं मुलुकका व्यापार र कम्पनीहरूप्रति लक्षित छन् ।

गत हप्ताको शुरूतिर जापानी सैनिकले एउटा उत्तर कोरियाली पानीजहाजले चिनियां अक्षर लेखिएको जहाजबाट सामानहरू ओसार्दै गरेको फोटो खिचेका थिए । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध ’अहिलेसम्मकै सबैभन्दा कडा’ नाकाबन्दीहरु लगाइने घोषणा गरेका थिए । उत्तर कोरियाले आफ्नो पारमाणविक अस्त्र कार्यक्रमलाई जारी राखेकाले ताजा प्रतिबन्धहरू लगाउनुपरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

ट्रम्पकी छोरी इभांका दक्षिण कोरिया पुगेको केही घण्टाभित्रै प्रतिबन्धको घोषणा गरिएको थियो । उनले त्यहां उत्तर कोरियाविरूद्ध अत्यधिक दबाव दिन आह्वान गरेकी थिइन् । गत डिसेम्बरमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्मले कटौती गर्ने उद्देश्यले विभिन्न प्रतिबन्धहरू लगाएको थियो । अमेरिकाले गत एक दशकदेखि नै उत्तर कोरियाविरुद्ध विभिन्न प्रतिबन्धहरू लगाउंदै आएको छ ।

हालै उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आए पनि अमेरिकी अधिकारीहरू प्योङयाङ्को पारमाणविक खतरा कायमै रहेको बताउंछन् । गत वर्ष उत्तर कोरियाले वाशिङटनसम्मै मार हान्न सक्ने क्षमता भएको भनिएको लामो दूरीको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । तर कतिपयले त्यो उत्तर कोरियाली प्रचारबाजीको एउटा हिस्सा हुन सक्ने बताएका थिए ।
वीवीसी

प्रतिक्रिया दिनुहोस
Advertisement