भारतले चीनको भूमी पनि अतिक्रमण गरेको खुलासा


काठमाडौं – नेपाली सीमाना मिचेर चर्को आलोचना खेपिरहेको भारतले चिनियाँ भूमि पनि अतिक्रमण गरेको खुलेको छ । भर्खरै जारी गरेको नयाँ नक्सामा भारतले चिनियाँ भू–भागलाई समेटेको चिनियाँ पक्षले दाबी गरेको छ ।

dish home

नेपाल भ्रमणमा रहेका चिनियाँ थिंक ट्यांक तथा प्राध्यापकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीन र पाकिस्तानको भू–भागसमेत नयाँ नक्सामा समावेश गरेको दाबी गरेका हुन् ।

आइतबार प्रेस काउन्सिल नेपालको हलमा आयोजित छलफल कार्यक्रममा चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले छिमेकी सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताए । भारतले भुटानबाहेक अरु सबै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको समेत उनको भनाइ थियो ।

चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उप निर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताए । उनले यो समस्या दुई देशबीच वार्ताबाट समाधान होस् भन्नेमा चीन रहेको र यसबारेमा चीनको अलग्गै अडान नरहेको बताए ।

उनले नेपाली भूभागमात्र होइन लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले आफ्नो नक्सामा देखाएको बताए । भारतको सो नक्साका बारेमा चीनले आधिकारिक रुपमा आपत्ति जनाएर त्यसलाई अस्वीकार गरिसकेको समेत उनले जानकारी दिए ।

प्राध्यापक वेइवेइले दक्षिण एशियाको विकासका लागि चीनले अघि सारेको चीन नेपाल भारत त्रिदेशीय आर्थिक करिडोरबाट भारत हच्किएको बताए । उनले भारतलाई क्षेत्रीय आर्थिक साझेदारीमा जोड्न कठिन रहेकोसमेत टिप्पणी गरे ।

उनले भने ‘भारतको सबै छिमेकीसँग समस्या देखियो । हामीले चाइना नेपाल भारत आर्थिक कोरिडोरको प्रस्ताव ल्यायौं तर ऊ त्यसबाट हच्कियो । बिआरआईमा पनि ऊ हच्किएको छ । सीमा समस्याहरु शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ, यसमा चीनको फरक अडान हुन्न ।’

कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलगायतले चिनियाँ थिंक ट्यांक र सरकारी अधिकारीहरुसँग नेपाल मामिलामा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस