अन्तर्राष्ट्रिय सम्बन्ध गिजोल्दै कांग्रेस, राजनीतिक एजेन्डाको खडेरी भएको हो ?


काठमाण्डु-  चीन सरकारको मुखपत्र ग्लोबल टाईम्समा शनिवार एउटा नेपाल सम्बन्धी समाचार प्रकाशित भयो, जसमा भनिएको छ – नेपाली कांग्रेस ‘प्रो इन्डियन’ दल हो । नेपाली कांग्रेसलाई चिनियाँ मिडियाले ‘प्रो इन्डियन’ भनेर किन लेख्यो ?

चीन सरकारने नेपालको उत्तरी सीमा हुम्ला नजिक बनाएका भवनबारे प्रस्टीकरण दिइएको समाचारमा कांग्रेसलाई ‘प्रो इन्डियन’ दल भनिएको छ । चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएको भन्दै नेपाली कांग्रेसले नेपाल सरकारले केही बोल्न नसकेको भन्दै विरोध गरिरहेको छ ।

नेपालमा भारतको विरोध हुँदा भारतीय मिडियाले ‘चीनको उक्साहटमा विरोध भइरहेको’ भनेर समाचार प्रसारण गरेझै चिनियाँ मिडियाले पनि कांग्रेसले भारतको उक्साहटमा सीमा विवादको मुद्दा उचालिरहेको संकेत गरेको छ । ग्लोबल टाईम्सले भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई उचालेको दाबी गरेको छ ।

संवेदशील विषयमा कांग्रेसको राजनीति
अन्तर्राष्ट्रिय सम्बन्धका विषयलाई संवेदनशील रूपमा हेर्ने गरिन्छ । छिमेकी वा अरु देशसँग कुनै विषयमा कुरा गर्नुअघि देशभित्र समान धारणा बनाउने राजनीतिक अभ्यास रहँदै आएको छ । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत क्षेत्रमा अतिक्रमण गरेपछि नयाँ नक्सा जारी गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सर्वदलीय बैठक भएको थियो । जसमा कांग्रेस लगायत सबै दलले समर्थन जनाएका थिए । सर्वदलीय सहमतिपछि सरकारले नयाँ नक्सा जारी गर्दै संविधान संशोधन प्रक्रिया अगाडि बढाएको थियो ।

हुम्लाको सीमा नजिक चीनले बनाएका भवनका सम्बन्धमा यसअघि नै सरकारले स्पष्ट धारणा राखिसकेको छ । चीनले नेपाली सीमा अतिक्रमण नगरेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको छ । त्यतिमात्र होईन चिनका लागी नेपाली राजदूत महेन्द्र पाण्डेले समेत चीनले सीमा भुमिमा भवन नबनाएको बताइसकेका छन् । तर कांग्रेसले चीनले सीमा अतिक्रमण गरेको दाबी गर्दै आएको छ ।

गत असोज २८ गते प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले ‘हुम्लामा सीमा ‘मिचिएकै छैन’पछि मिचिएको प्रमाणमाथि मौनता । कम्युनिस्ट सरकारको गम्भीर राष्ट्रघात !’ भएको दाबी ग¥यो । ‘हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।

सदरमुकाम सिमिकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्रमार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो,’ कांग्रेसका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि असोज १४ गते कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुग्यो । चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमा क्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययनको निष्कर्ष छ – नाम्खाको लिमिमा चीन सरकारले करीब २ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको छ ।’

यसरी कांग्रेसले आफ्ना सांसदको नेतृत्वमा टोली नै बनाएर चीनले सीमा मिचेको दाबी गरिरहेको छ । सरकारी निकायले सीमा नमिचेको दाबी गरिरहँदा प्राविधिक टोली विना नै राजनीतिक नेताले सीमाबारे विवाद बढाउनु उपयुक्त नहुने कूटनीतिक क्षेत्रका जानकाहरू बताउँछन् । चिनियां पक्षले पनि पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुने भएकाले यसमा नेपाली पक्षले अझै अध्ययन गर्नुपर्ने सुझाव समेत दिएको छ ।

अन्तर्राष्ट्रिय मामलासंग जोडिएका विषयमा सरकारमार्फत जानुपर्नेमा कांग्रेसले लगातार सीमा अतिक्रमणको विषय उठाउन थालेपछि चीनले उसलाई ‘प्रो इन्डियन’को संज्ञा दिएको छ । देशभित्र राजनीति गर्ने अन्य थुप्रै विषय खोज्नुपर्नेमा कांग्रेसले संवेदनशील विषयमा राजनीति गर्न थालेकोमा अन्तर्राष्ट्रिय मामिला जानकारहरूले चिन्ता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय मामिलाका जानकार डा.निश्चलनाथ पाण्डेले देशको भुमी अतिक्रमणको बिषयलाई राजनितिक फुट्बल बनाएर प्रहसन गर्नुको सांटो दलहरुले सीमा हेर्ने निकायलाई सकृय बनाए देश र जनताको हित हुने बताए । उनले वैदेशिक निती समग्र मुलुकको हुने भन्दै यसमा सवै जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । हरेक राजनीतिक दलले छुट्टा-छुट्टै पररास्ट्र मामिला सन्चालन गरेका कारण यस्तो समस्या आएको पाण्डेको भनाई छ ।

चीनको दाबी के छ ?

चिनियाँ पत्रिका ग्लोबल टाईम्सले नेपालको सीमा नमिचेको स्पष्ट पारेको छ । पत्रिकाले आफ्ना भवन नेपालको सीमाभन्दा १ किलोमिटर वरै आफ्नै भूमिमा पर्ने स्पष्ट पारेको छ । ग्लोबल टाईम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले चीनले नेपालको सीमाभन्दा १ किलोमिटर टाढा भवन निर्माण गरेको दाबी गरेको छ । उनले भवन निर्माण पूर्व मे महिनामा विस्तृत सर्वे र म्यापिङ गरेको जनाएका छन् ।

चीनले बुरङ काउन्टीअन्तर्गत नयाँ गाउँ निर्माण गरिरहेको उनले जनाएका छन् । पत्रिकाले भवन निर्माण थाल्नुअघि नै सैनिक तथा स्थानीय अधिकारीले फिल्ड सर्वे र नक्सांकन गरेको दाबी गरेको छ । नेपालको परराष्ट्र मन्त्रालयले समेत चीनले सीमा नमिचेको र भवन चीनतर्फ निर्माण भएको प्रस्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement