चिनियाँ राष्ट्रपति सिद्वारा अमेरिका उत्तर कोरिया वार्ता सफलताको कामना


बेइजिङ – चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुन लागेको भनिएको वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गरेका छन् । उनले उक्त वार्ताको सफलताको कामनागर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गरेका जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भनी सार्वजनिक अभिव्यक्ति दिईरहेको बेलामा दुई दिनपछि चिनियाँ राष्ट्रपतिको यो भनाइ आएको हो ।

‘आसन्न वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उपलब्धि हासिल होस् र आगामी दिनमा विश्व शान्तिका लागि पनि उपलब्धिमूलक हुन सकोस्’ उनले भने । राष्ट्रपति चिनफिङले सो धारणा चीन पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतसँग मङ्गलबार राखेका हुन् । दक्षिण कोरियाली राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ सोमबार चीन पुगेका थिए ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका चुङ दक्षिण कोरियाली विशेषदूतका रुपमा गएको बिहीबार अमेरिका पुगेको प्राप्त समाचारमा जनाइएको थियो । उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी प्योङयाङ भ्रमणका बारेमा जानकारी गराएका थिए ।

उत्तर कोरियाका नेता किम जङ उन र दक्षिण कोरियाली राष्ट्रपतिको सन्देश बोकेर अमेरिका पुगेका उनी सोही प्रयोजनका लागि चीन पुगेको थिए । उनले चिनियाँ राष्ट्रपति चिनफिङलाई भेटेर यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनसँग भएको भेटवार्ताका बारेमा जानकारी गराएका थिए ।

सो जानकारीपछि चिनियाँ राष्ट्रपति चिनफिङले अमेरिका र उत्तर कोरियाबीचको वार्ता सौहार्द होस भनी कामना गरका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुनसक्ने सम्भावना रहेको हालै बताएका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएका कारण आफूले वार्तामा बस्न सहमति जनाएको थिए ।

साथै, उनले सो वार्ताका लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग कुराकानी गरेर उनीहरुको पनि समर्थन र सहयोग लिन चाहेको खुलासा गरेका थिए । समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ ।

वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेका थिए । राष्ट्रपति चिनफिङ्ले चीन पनि कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग मिलेर कामगर्न लागि पर्ने धारणा पनि राखेका थिए ।

उनले चीन पहिलेदेखि नै कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्णरुपमा वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको र वार्तालाई सधैँ समर्थन गर्ने धारणा पनि राख्नुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बताएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस
Advertisement